समायोजन प्रक्रिया नसच्याए कडा आन्दोलनमा उत्रिने चेतावनी

शनिबार, २७ माघ २०७४, १४ : ५६
समायोजन प्रक्रिया नसच्याए कडा आन्दोलनमा उत्रिने चेतावनी

काठमाडौं । सुदुर पश्चिमाञ्चल विश्वविद्यालय आङ्गिक क्याम्पस समायोजन संघर्ष समितिले विश्वविद्यालयद्धारा हालै अघि बढाइएको १५ वटा आङ्गिक क्याम्पसलाई समायोजन गर्ने प्रक्रियानै गलत भएको भन्दै उक्त प्रक्रिया तत्काल सच्याउनुपर्ने माग अघि सारेको छ ।   शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले उक्त प्रक्रिया नसच्याए आगामी दिनमा जस्तोसुकै संघर्षमा उत्रिन बाध्य हुने चेतावनी समेत दिएको हो ।

समितिका संयोजक मानबहादुर चन्दले तत्काल विश्वविद्यालयले आफूहरुले उठाएका जायज मागहरु सम्बोधन गर्नको लागि ढिलाई गर्न नहुने धारणा समेत राखे । उनले भने, ‘हामीले त यो प्रक्रियाको सुरुदेखि नै विरोध गर्दै आएका छौं, यो विभेदपूर्ण छ, विश्वविद्यालयको ऐनको पनि विपरित छ, पूर्वअभ्यास विपरित भएकोले हामी कुनै पनि हालतमा यो प्रक्रिया संशोधन नभएसम्म अगाडि बढ्न दिँदैनौं, बरु यसको लागि जस्तोसुकै कदम उठाउन पनि बाध्य हुनेछौं, हाम्रा साथीहरु आन्दोलनका लागि तमतयार भएर बस्नुभएको छ ।’

चन्दले विश्वविद्यालयको जिम्मेवारी पदाधिकारी उपकुलपति भुषण श्रेष्ठ र रजिष्ट्रार द्धिजराज भट्टले समायोजन प्रक्रियालाई नै अवरुद्ध गरि १५ वटा क्याम्पसलाई आंगिक प्रक्रियाबाट बन्देज गराई विश्वविद्यालयको विकास र विस्तारलाईनै रोक्ने फोहोरी नियतका साथ आफूहरुलाई अदालत जान धम्क्याएको समेत उनले आरोप लगाए । उनले भने, ‘यतिमात्रै होइन, उनीहरुले यो दरबन्दीलाई खारेज गरिदिने धम्की दिनुभएको छ, तर हामी संयममित भएर आफ्ना विरोधका कार्यक्रमहरु अघि बढाईरहेका छौं, हामी अदालत जाने पक्षमा छैनौं ।’

समितिले विभिन्न ३ बुँदे माग समेत राखेको छ ।  विश्वविद्यालय ऐनमा भएको व्यवस्थाअनुसार विश्वविद्यालय र क्याम्पसहरुबीच समायोजन सम्बन्धी अन्तिम (एमओयू) गर्दा सम्मका शिक्षक कर्मचारी जो जुनअवस्थामा रहेका छन् सोही अवस्थामा समायोजन गर्नुपर्ने, समायोजन कार्यविधि सुदुरपश्चिम विश्वविद्यालयमा समायोजन भैसकेको सिद्धनाथ बहुमुखी क्याम्पसको नजिर अनुसार हुनुपर्ने र सेवा सुविधा तथा शर्त सिद्धनाथ बहुमुखी क्याम्पसबाट समायोजन भई आएका शिक्षक कर्मचारीसरह हुनुपर्ने रहेको छ ।

प्रतिक्रिया दिनुहोस