कविता : स्वदेशको माया

शनिबार, ०५ पुस २०७६, १६ : ५३
कविता : स्वदेशको माया

- उषा शेरचन

मुटुभित्र आफ्नो देश बोकेर
परदेशमा
राइफलहरुमा अनुवाद भइरहेको छु
तोपहरुमा अनुवाद भइरहेको छु

अपरिचयको यस दुर्गम मरुप्रदेशमा
निरन्तर-
स्वदेश सलबलाइरहेको छ मुटुभरि
माटो टलपलाइरहेको छ मनभरि

आस्थाको अनन्त मन्दिरजस्तो
मन्दिरको अनन्त आस्थाजस्तो
बुद्ध र सगरमाथाको देश
सपनाको जीवन्त लहर बनेर
बल्झि पनि रहेको छ मुटुभरि

अहिले मेरो घायल काँध होइन
घायल मुटुलाई-
आमाको कोमल स्पर्श पनि छैन
प्रियसीको कोमल बन्धन पनि छैन
उफ ! सन्तानको निश्चल मुस्कान पनि छैन

साँच्चै आहत मन बोकेर
परदेशमा-
ए मेरो स्वभूमि !
मलाई तिम्रो अनन्त तिर्खा लाग्छ
ए मेरो जन्मभूमि !
मलाई तिम्रो अनन्त माया लाग्छ !
ए मेरो जन्मभूमि !
मलाई तिम्रो अनन्त माया लाग्छ !!

प्रतिक्रिया दिनुहोस