काठमाडौं म्याराथन : महिलातर्फ कान्छीमायाको ह्याट्रिक

सफल खबर संवाददाता

शनिबार, ०५ पुस २०७६, १३ : ०२
काठमाडौं म्याराथन : महिलातर्फ कान्छीमायाको ह्याट्रिक

काठमाडौं । काठमाडौं म्याराथनको उपाधिमा कान्छीमाया कोजुले ह्याट्रिक गरेकी छन् । शनिबार बिहान भएको म्याराथनमा कान्छीमायाले महिलातर्फ लगातार तेस्रो पटक उपाधि जित्दै ह्याट्रिक गरेकी हुन् । नेपाल एपीएफ क्लबकी धाविका कान्छीमायाले निर्धारित दुरी दुई घन्टा ५७ मिनेट २७ सेकेन्डमा पूरा गरिन् ।

यसअघि दुई संस्करणको च्याम्पियन उनको यो समग्रका पाँचौं काठमाडौं म्याराथन उपाधि हो । आर्मीकी सरिता वासी दोस्रो भईन् । सिरताले निर्धारित दुरी तीन घन्टा १९ मिनेटसात सेकेन्डमा पूरा गरिन् । निर्जला ताम्राकार तेस्रो भईन् । निर्जलाले तीन घन्टा ४५ मिनेट ४७ सेकेन्डमा दौड पूरा गरिन् ।

१३औं संस्करणको यस म्याराथनमा पुरुषतर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लबले वर्चस्व जमाएको छ । पुरुषमा आर्मीका नरेन्द्रसिंह रावल च्याम्पियन भए । नरेन्द्रले निर्धारित दुरी दुई घन्टा ३३ मिनेट १० सेकेन्डमा पूरा गरे । 

आर्मीकै वेदबहादुर सुनारले दुई घन्टा ३४ मिनेट २० सेकेन्डमा दुरी पूरा गर्दै दोस्रो र आर्मीकै ज्ञानप्रसाद भट्टराईले दुई घन्टा ३४ मिनेट ४५ सेकेन्डमा दौड सक्दै तेस्रो भए । म्याराथन विजेताले उपाधिसँगै ५० हजार, उपविजेताले २० हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गरे ।

यसैगरी हाफ म्याराथनमा पनि आर्मीका खेलाडीले वर्चस्व जमाए । पुरुषमा आर्मीका राजन रोकाया पहिलो, आर्मीकै हरि कुमार रिमाल दोस्रो र रामजी बस्नेत तेस्रो भए । 

महिलामा आर्मीकी पूर्णलक्ष्मी न्यौपाने पहिलो, आर्मीकै सानुमाया कार्की दोस्रो र नेपाल पुलिस क्लबकी रेखा बिष्ट तेस्रो भए । हाफ म्याराथनमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २० हजारहजार र सात हजार रुपैयाँ पुरस्कार पाए । दशरथ रंगशबालाबाट सुरु भएको म्याराथन शहरका विभिन्न स्थान हुँदै पुनः दशरथ रंगशालामा आएर सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस