अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उद्घाटन प्रचण्डबाट

शुक्रबार, २६ माघ २०७४, १८ : ०७
अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उद्घाटन प्रचण्डबाट

चितवन । प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिता शनिबारदेखि पटिहानीमा सुरु हुने भएको छ । 
भलिबल महोत्सवको रुपमा सञ्चालन गर्न लागिएको प्रतियोगिताका लागि कोर्ट निर्माणदेखि परिसर सजावटका सबै काम सम्पन्न भएको शुक्रबार खेलस्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 
दुई वटा विदेशी टिमसहित ७ वटा टिम सहभागी हुने प्रतियोगितामा रोमाञ्चकारी महिला भलिबलसँगै सांस्कृतिक कार्यक्रम र खेलकुदका सामग्रीसहितको स्टलको अवलोकन पनि गर्न पाइने आयोजकले जनाएको छ । त्यसका लागि स्टल बनाइएका छन् । 
प्रतियोगितामा भारतबाट हरियाणा पुलिसको महिला टिम आउने भएको छ । यसअघि फ्रेञ्च क्लब कोलकाता आउने भनिएपनि अन्तिम समयमा भारतबाट हरियाणा पुलिस आउने तय भएको प्रतियोगिता संयोजक तथा भरतपुर महानगरपालिका २२ नम्बर वडाका अध्यक्ष विष्णुराज महतोले जानकारी दिनुभयो । 
प्रतियोगितामा बंगलादेशको राष्ट्रिय महिला भलिबल टिम पनि सहभागी हुने भएको छ । साथमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र न्यू डायमण्ड एकेडेमी काठमाडौं सहभागी हुनेछन् । 
पहिले आउने भनिएको पश्चिमाञ्चल भलिबल संघको टिम भने खेलाडी घाइते भएका कारण नआउने भएको छ । त्यसको ठाउँमा चितवनको टिम चितवन टाइगर्सले सहभागिता जनाउने प्रचारप्रसार समिति संयोजक रामहरि सेढाईंले जानकारी दिनुभयो । प्रतियोगिता हेर्नलाई अस्थायी प्याराफिटको व्यवस्था गरिएको छ । 
भरतपुर महानगरपालिकाको पटिहानीमा रहेको आधारभूत विद्यालय धनौजीको खेल मैदानमा आयोजना हुने प्रतियोगिताको उद्घाटन पूर्वप्रधानमन्त्री तथा यसै क्षेत्रका प्रतिनिधि सभा सदस्य पुष्पकमल दाहाल प्रचण्डले गर्नु हुनेछ ।
प्रतियोगिताको विजेता टिमले २ लाख रुपैयाँ, उपविजेता टिमले एक लाख रुपैयाँ, तृतीय हुने टिमले ५० हजार रुपैयाँ र सान्त्वना हुने टिमले २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । अन्य चार विधामा उत्कृष्ट हुने खेलाडीले पाँच हजार रुपैयाँ पुरस्कार पाउने आयोजकको भनाइ छ । 
प्रतियोगिता लिगकम नकआउटको आधारमा खेलाइने छ । प्रतियोगिता सम्पन्न गर्न २७ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्नको लागि १३ सदस्यीय स्टेयरिङ समिति, विभिन्न १६ वटा उपसमिति र ५९ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस