ललितपुरमा साइकल ऐन निर्माण हुने

रासस

बुधबार, ०२ पुस २०७६, १२ : २२
ललितपुरमा साइकल ऐन निर्माण हुने

ललितपुर । ललितपुर महानगरपालिकाले नेपालमा पहिलो साइकल ऐन निर्माण गर्ने भएको छ । महानगरपालिकाले मङ्गलबार आयोजना गरेको ‘ललितपुर महानगरपालिकाको साइकल ऐनबारे प्रस्तुतीकरण तथा छलफल’ कार्यक्रममा महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले नेपालमा साइकल ऐनको वकालत गर्ने पहिलो स्थानीय सरकार आफ्नो महानगरपालिका हुने भएको जिकिर गर्नुभयो । 

उहाँले महानगरपालिकाले साइकल चढ्ने व्यक्तिलाई प्रोत्साहन गर्न आवश्यक योजना बनाएर अघि बढ्ने बताउँदै भन्नुभयो, “हामी सङ्घ र प्रदेश सरकारको कानूनसँग नबाझिने ऐन र कानून निर्माण गर्छौँ ।” साइकल लेन र  ऐनको विषयमा सङ्घीय सरकार र प्रदेश सरकारले सोच्न पनि नसकेका बेला आफूले ‘भ्याली मेयर फोरम’को कार्यक्रममा सो विषय उठाएको महर्जनले बताउनुभयो । आफूले अघि बढाएको योजना देखेर अन्य नगरपालिका र गाउँपालिकासमेत यसतर्फ आकर्षित भएको महर्जनको जिकिर छ । 

उहाँले थप्नुभयो, “महानगरपालिकाभित्र नगर यातायात सञ्चालन गराउन यसको गुरुयोजना निर्माणको योजनामा हामी अघि बढेका छौँ ।” महानगरले ऐन, कानून, नीति तथा योजना बनाउँदा पहिला पैदलयात्री र त्यसपछि दोस्रोमा साइकलयात्रीलाई सहज तथा प्रोत्साहन पुग्ने वातावरण सिर्जना गराइने महर्जनले बताउनुभयो । 

युएन ह्याबिट्याटका प्रतिनिधि पद्मसुन्दर जोशीले शहरी सडकको मापदण्डअनुसार ऐन निर्माण गर्न जोड दिनुपर्ने औँल्याउनुभयो । उहाँले भन्नुभयो, “महानगरपालिकाले साइकलयात्रीको बीमाको व्यवस्था गर्नुपर्छ ।” विश्व साइकलयात्री पुष्कर शाहले साइकल आफैँमा सुरक्षित माध्यम रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकका हरेक जनताले एक दिन मात्र साइकल प्रयोग गरे भने १२ लाख लिटर डिजेल र पेट्रोल बचत हुन्छ र यसबाट उत्सर्जन हुने कार्बन कम गर्न सकिन्छ ।”

महानगरका संस्कृति संरक्षण केन्द्रका प्रमुख उपसचिव सहजीत राईले साइकल ऐन निर्माण गर्नुपूर्व कानूनविद्सँग छलफल गरी अघि बढ्न आग्रह गर्नुभयो । साइकल सोसाइटीका अध्यक्ष रत्नराम श्रेष्ठले महानगरका २९ वटै वडामा २० साइकल अट्ने साइकल पार्किङ स्टेशन बनाउनुपर्ने सुझाव दिनुभयो । साइकल व्यवसायी दिरेक मानन्धरले साइकलयात्रीलाई प्रोत्साहन गर्नका लागि हप्तामा एक दिन साइकल चढेर कार्यालय आउने व्यवस्था मिलाउनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “एशियाका शहरमध्ये ललितपुरसँग सबैभन्दा बढी साइकल फ्रेन्डली बन्ने अवसर रहेको छ ।” (रासस) 

प्रतिक्रिया दिनुहोस