कम मूल्यमा प्याज पाउन अझै केही समय कुर्नु पर्ने

सफल खबर संवाददाता

मंगलबार, ०१ पुस २०७६, १६ : २७
कम मूल्यमा प्याज पाउन अझै केही समय कुर्नु पर्ने

काठमाडौं । केही दिन यता नेपाली बजारमा उकालो लागेको प्याजको भाउँ अझै झरेको छैन् । भारतीय बजारबाट कम आपुर्ती भएसँगै ह्वात्तै बढेको प्याजको भाउ तल झर्न नेपाली उपभोक्ताहरुले अझै केही समय कुर्नु पर्ने देखिन्छ । तर यसै समयमा आकासिदो प्याजको मूल्यमा केहि राहत दिने गरी चिनीयाँ प्याज नेपाल भित्रन थालेका छन् । 

कालिमाटी फलफूल तथा तरकारी बजारका अनुसार पछिल्लो समय दैनिक ४० देखि ४५ मेट्रिक टन चिनियाँ प्याजले नेपाल प्रवेश पाउन थालेको छ । भारतीय प्याजको आयात कम भएपछि चिनियाँ प्याजतर्फ व्यवसायीहरु आकर्षित भएको कालिमाटी फलफूल तथा तरकारी व्यापार संघले बताएको छ । 

यसरी आयात गर्न थालिएको चिनियाँ प्याज भारतीय प्याजको तुलनामा निकै सस्तो समेत रहेको व्यवासयीहरुले बताएका छन् । भारतीय प्याजको तुलनामा चिनियाँ प्याज झण्डै ५० प्रतिशतले नै सस्तो पर्ने व्यवसायीहरुको भनाई छ ।
 
हाल कालिमाटी फलफूल तथा तरकारी बजारको थोक बजारमा नै भारतीय प्याज प्रतिकेजी २१० देखि २५० रुपैयाँसम्म पर्ने गरेको छ । तर चिनियाँ प्याज भने ११० देखि १४० रुपैयाँ प्रतिकेजीमा नै उपलब्ध हुँने गरेको व्यवसायीले बताएका छन् । 
तर बजारको कुल प्याजको माग चिनियाँ प्याजले मात्र धान्ने अवस्था छैन ।
 
अहिले नेपालको कुल प्याजको मागको करिब ५० प्रतिशत आपुर्ती मात्र चिनले पुर्ती गरिरहेको छ । झण्डै ९० देखि १०० मेट्रिक टन बराबरको प्याजको माग रहेकोमा चिनबाट तातोपानी र रसुवागढी नाका हुँदै दैनिक ४०–४५ मेट्रिक टन प्याज नेपाल भित्रिने गरेको छ ।

बाँकी ५० प्रतिशत प्याजको पुर्ती अझै अपुग छ । यता आन्तरिक उत्पादन समेत नहुँदा प्याजको भार पर्दै आएको छ र नेपालले अभावका बेला पनि भारतीय बजारकै मुख ताक्नु परिरहेको व्यवसायीहरुको गुनासो छ ।

नेपालले वार्षिक झण्डै १२ अर्ब बराबरको प्याज आयात गर्दै आएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार गत वर्षमा मात्र नेपालले १४ अर्ब ४ करोडको बराबरको प्याज आयात गरेको थियो । यसै आर्थिक वर्षको पहिलो तीन महिनामा मात्र नेपालले ५ अर्ब १९ करोडको प्याज आयात गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस