स्मार्ट सिटीको परिकल्पनालाई साकार पार्न युरोपियन देशहरुको भ्रमणमा

शुक्रबार, २७ मंसिर २०७६, १४ : ४१
स्मार्ट सिटीको परिकल्पनालाई साकार पार्न युरोपियन देशहरुको भ्रमणमा

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरको स्मार्ट सिटीको परिकल्पनालाई साकार पार्न युरोपियन देशहरुको भ्रमणमा निस्केको बताउनुभएको छ ।

आज शुक्रबार भरतपुर महानगर प्रमुख दाहालले युरो नेपाल अनलाइन च्यानललाई अन्तर्वार्ता दिँदै भन्नुभयो, ‘यहाँको स्मार्ट सिटीको स्थलगत अवलोकन गरिरहेका छौँ, यसको सिको हामी भरतपुर महानगरमा गर्न चाहन्छौँ ।’

प्रमुख दाहालले युरोपियन देशहरुमा कुटनीतिक भेटघाट र राजनीति नियोगसँगको अन्तक्र्रिया भइरहेको बताउनुभयो । उहाँले युरोपियन देशहरुको विकासको मोडलिटी, फोहोर व्यवस्थापनमा भएका गतिविधिहरुको अध्ययन गरिरहेको बताउनुभयो । 

अन्तर्वार्तामा प्रमुख दाहालले यसपटकको भ्रमणमा युरोपियन देशहरुका स्थानीय सरकारसँग कुनैै लिखित सम्झौता नहुने र आगामी दिनमा ठूला आयोजनाहरुमा सम्झौता हुन सक्ने बताउनुभयो । 

उहाँले अन्तर्वार्ताको क्रममा युरोपियन देशहरुको कुटनीतिक भ्रमणमा महानगरको एक पैसा पनि खर्च नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मन्त्रिपरिषतलगायत सबै निकायबाट स्वीकृत लिएर भ्रमणमा आएका हौँ, यहाँको खर्च आयोजकको हो ।’ 

अन्तर्वार्तामा महानगरपालिका उमप्रमुख पार्वती शाहले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न पनि यस भ्रमणले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले स्मार्ट सिटीको परिकल्पनालाई साकार पार्न पनि भूमिका हुने बताउनुभयो ।