बेथितिको अखडा बन्दै स्थानीय सरकार

पत्रपत्रिकाबाट

सोमबार, २३ मंसिर २०७६, ०७ : ०६
बेथितिको अखडा बन्दै स्थानीय सरकार

काठमाडौं । काठमाडौं उपत्यकामा घर भएका तथा उपत्यकाभित्र र बाहिर स्थानीय तहका केही प्रमुख प्रशासकीय अधिकृतले घरबाटै कार्यालय आउजाउ गरेको देखाएर नगएको दिनको पनि हाजिर गर्दै आएको पाइएको छ। विद्युतीय हाजिरी मेसिन बिगारेर उनीहरूले रजिस्टरमा हाजिर गर्ने गरेका छन्। ती अधिकृतहरूको मनोमानीका कारण सेवाग्राहीहरू मर्कामा परेका छन्। ती अधिकृतहरू दैनिक कार्यालय त जाँदैनन् नै, गएका दिन पनि ढिलो गरी पुग्ने र समय सकिनुअगावै निस्कने प्रवृत्तिका कारण सेवाग्राही मात्र होइन, मातहतका कर्मचारीले समेत हैरानी बेहोर्दै आएका छन्।

कर्मचारी नं. १

ललितपुरको महाँकाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रसाद पाण्डे काठमाडौंको थानकोटबाट दैनिक ५५ किलोमिटर दूरी पार गरेर कार्यालय ओहोरदोहोर गर्छन्। ग्रामीण सडक भएकाले गाडीबाट यो दूरी पार गर्न करिब चार–पाँच घन्टा लाग्छ। २६ कात्तिक २०७६ मा गोटीखेलस्थित गाउँपालिकाको कार्यालय पुग्दा उनी भेटिएनन्। तर त्यस दिन उनले रजिस्टरमा हाजिर गरिसकेको भेटियो। उनले अघिल्लो दिन नै भोलिपल्टको पनि हाजिर गरेका थिए।

गाउँपालिका उपाध्यक्ष कमला तामाङका अनुसार प्रमुख प्रशासकीय अधिकृत पाण्डे सातामा दुई–तीनपटक मात्र कार्यालय आउँछन् र आएको दिन नआएका दिनको पनि हाजिरी गर्छन्। ‘मन्त्रालयले पठाएका कर्मचारीसँग काम गर्न सारै गाह्रो भइरहेको छ,’ उनले भनिन्, ‘कार्यकारी नियमित नआउँदा सेवाग्राही मर्कामा परेका छन्।’ स्थानीय प्रकाश थिङले काम लिएर हप्तामा तीनपटक आउँदा एकपटक मुस्किलले कार्यकारी भेटिएको गुनासो गरे। ‘हाकिमको कुर्सी सधैं खाली हुन्छ,’ उनले भने, ‘प्रशासकीय अधिकृतबारे सोध्दा अरू कर्मचारी रिसाउँछन्।’ कार्यालयमा नभेटिएपछि २६ कात्तिकमा फोन सम्पर्क गर्दा पाण्डेले आफू कार्यालयमै रहेको दाबी गरे। आफूहरूले कार्यालयबाटै फेन सम्पर्क गरेको बताएपछि उनले बोली फेरे। जोगिन खोज्दै उनले भने, ‘मैले सेवाग्राहीलाई मर्का पारेको त छैन नि !’

कर्मचारी नं. २

ललितपुरको बाग्मती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य भक्तपुरको बालकोटमा बस्छन्। त्यहाँबाट भट्टेडाँडास्थित गाउँपालिका कार्यालयको दूरी झन्डै ५० किलोमिटर छ। बालकोटबाट गाडीमा कार्यालय पुग्न उनलाई कम्तीमा तीन घन्टा लाग्छ। त्यसैले उनी नियमित कार्यालय जाँदैनन्। निर्णय गर्नुपर्ने काम र हस्ताक्षर गर्नुपर्ने कागजात तयार पारेर अरू कर्मचारीले उनको टेबुलमा राखिदिन्छन्। उनी आफ्नो अनुकूलतामा त्यहाँ पुगेर कागजातमा सही गरेर घर फर्किन्छन्। स्थानीय मनोज पराजुली भन्छन्, ‘आचार्य सरले अफिस आएका बेला रजिस्टरमा हाजिर गरेर फर्किएको गुनासो सुनिएको छ।’

मारमा सेवाग्राही
स्थानीय तहका कर्मचारी कार्यालयबाट टाढा बस्दा त्यसको सीधा असर सेवाग्राहीलाई परेको छ। टाढा बस्दा इन्धन र समयको खर्च त भएको छ नै, कार्यालयको काममा बाधा पुगेको छ। दुई वर्षअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालीन सचिव दिनेश थपलियाको अग्रसरतामा कर्मचारी टाढा बसेर सेवाग्राहीलाई सताएपछि मन्त्रालयले ‘परिपत्र’ गरेरै स्थानीय तहमा खटिएका कर्मचारीलाई सम्बन्धित स्थानीय तहभित्रै बस्न भनिएको थियो। त्यसअघि सोही मन्त्रालयले २०७४ वैशाख १ मा स्थानीय तहका कार्यकारीहरू समयमै हाजिर हुन र मन्त्रालयको स्वीकृतिबिना बिदा लिन नपाउने व्यवस्था सहितको परिपत्र जारी गरेको थियो। ‘अधिकृतहरूले मन्त्रालयको पूर्वस्वीकृति नलिई कार्यालय नछाड्नु हुन अनुरोध छ,’ त्यसमा भनिएको थियो, ‘पालिकाबाट बिदा लिँदा वा बस्दा स्वीकृति लिएर मात्रै जानुहुन अनुरोध छ।’

दुईथरी हाजिरी
समयमै कार्यालय नपुग्ने अनि सातामा एक–दुई दिन मात्र कार्यालय पुगेर हाजिर गर्ने कर्मचारीले अनेक बहानामा विद्युतीय हाजिर बिगार्ने गरेका छन्। उनीहरू मेसिन बिग्रिएको, सफ्टवेयरले काम नगरेको, बिजुली नभएकोजस्ता कारण देखाएर रजिस्टरमै हाजिर गर्छन्। काभ्रेपलाञ्चोकका पाँचखाल, बनेपा, पनौती, धुलिखेल नगरपालिकाको विद्युतीय हाजिर चल्दैन। त्यस्तै ललितपुरको बाग्मती, कोन्ज्योसोम र महाँकाल गाउँपालिकामा पनि विद्युतीय हाजिरी नचल्ने बनाइएको छ। जनप्रतिनिधि आएपछि कर्मचारीले नै जानी जानी विद्युतीय हाजिरी बिगारेका हुन्।नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस