पुरुष क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित

सफल खबर संवाददाता

शनिबार, २१ मंसिर २०७६, १४ : ०३
पुरुष क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित

काठमाडौँ । १३ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल बंगलादेशसँग ४४ रनले पराजित भएको छ । 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बंगलादेशले दिएको १५६ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेट गुमाएर १११ रन बनायो ।  नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४३ रन बनाए । उपकप्तान दीपेन्द्र सिंह ऐरीले १६ र अविनाश बोहोराले १३ बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

पारस खड्का ९ र रोहितकुमार पौडेल ८ रनमा आउट भए । ललित राजवंशी ५, विनोद भण्डारी र सुसन भारी ३र३ रन मा आउट हुँदा करण केसी १ रनमा पभेलियन फर्किएका थिए । पवन सर्राफ र आरिफ शेखले खाता नै खोल्न सकेनन् ।

बंगलादेशका लागि सुमोन खान, तानवीर इस्लाम, सौम्य सरकार र मेहेदी हसनले २/२ विकेट लिए ।

यसअघि बंगलादेशका लागि नजमुल होसैन शान्टोले सर्वाधिक ७५ रन बनाएर अविजित रहे । ६० बलमा उनले चार छक्का र चार चौकाको मद्दतमा उक्त रन बनाएका हुन् ।

त्यस अतिरिक्त अफिफ होसैनले अद्र्धशतकीय पारी खेल्दै २८ बलमै ५२ रन जोडे । यासिर अलिले १४ रन बनाए । अन्य ब्याट्सम्यान दोहोरो अङ्कमा रन बनाउन असफल रहे ।

बलिङतर्फ नेपालका पूर्व कप्तान पारश खड्काले सर्वाधिक तीन विकेट लिए । उनले चार ओभरमा मात्र १५ रन खर्चदैं तीन विकेट लिएका हुन् । यस्तै, दीपेन्द्रसिंह ऐरीले दुई र अभिनाष बोहराले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस