प्रचण्ड र ओलीले भने , " नेपालमा स्थिरता र समृद्धिको युग आउँदैछ "

विहीबार, ३० कार्तिक २०७४, १८ : १८
प्रचण्ड र ओलीले  भने ,  " नेपालमा स्थिरता र समृद्धिको युग आउँदैछ "


 भरतपुर । बाम गठबन्धनका शीर्ष नेताहरु माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा स्थिरता र समृद्धिको युग आउने बताउनु भएको छ। बुधबार स्याङ्जाको पुतलीबजार, स्याङ्जाको वालिङ, बाग्लुङको गल्कोट र पर्वतको कुश्मा बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेताहरुले उक्त कुरा बताउनु भएको हो। सभालाई सम्बोधन गर्दै नेताहरुले पुसको पहिलो साता बामपन्थीको बहुमतको सरकार बन्ने बताउनु भयो।

बिपीले आवेशमा समाजवाद भनेका थिएनन्, “प्रचण्ड“ चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले भन्नभयो, “नेपाल जहिले पनि राजनीतिक अस्थिरताको भूमरिमा फस्यो। २००७ सालदेखिको राजनीतिक स्थिरता र विकासको चाहना अधुरै रह्यो। हामी त्यसको अन्त्य चाहन्छौं, समृद्ध नेपाल चाहन्छौं, संविधानमा व्यवस्था भएको समाजवादको यात्रामा अघि बढ्न चाहन्छौ। अहिले कांग्रेसका नेताहरुले सेन्टिमेन्टमा आएर बिपीले समाजवाद भने भन्न थालेका छन्। बिपीले आवेशमा समाजवाद भनेका थिएनन्। कांग्रेस बिपीको आदर्शबाट नराम्रोसँग चिप्लिएको छ।

 “हामी कम्युनिष्ट मिल्दा कांग्रेसका नेताहरु आत्तिनुपर्ने कुनै कारण छैन। तपाईहरु पनि महन्त ठाकुर, राजेन्द्र महतोहरुलाई मिलाउनुस्। नेपालमा धेरै पार्टी आवश्यक छैन“ गल्कोटमा आयोजित सभामा प्रचण्डले भन्नुभयो, “नेपालमा कम्युनिष्ट र कांग्रेसबीच लोकतान्त्रिक प्रतिस्पर्धा गरौं, विकास र समृद्धिका लागि प्रतिस्पर्धा गरौं। राजनीतिक स्थिरता र स्थिर सरकारका लागि प्रतिस्पर्धा गरौं। के त्यसमा तपाईहरु डराउनु भएको हो ? आत्तिनुभएको हो ? तपाईहरुले नेपालमा धेरै वर्ष शासन गर्नुभयो। तर, राष्ट्रिय उद्योगहरु कौडीको मूल्यमा बेचिए। विकास आयोजना ठप्प भए। अहिले आएर फेरि राष्ट्रिय गौरवको आयोजना बुढी गण्डकी रोक्नुभयो। चुनावमा यसको मूल्य तपाईहरुका लागि चर्कै पर्नेछ।“ “गीरिजाबाबू जीवित भएको भए हलो बोकेर हिड्नु हने थिएन। राजावादी पार्टीलाई काँधमा बोक्नु हुने थिएन। अहिलेको कांग्रेसले गीरिजाको आदर्श बिर्स्यो“ प्रचण्डले भन्नुभयो, “कांग्रेसको गणतन्त्रप्रतिको निष्ठा कमजोर हुँदैछ । नेताहरुले समाजवादी आदर्शमाथि हमला गर्दैछन्, यो कांग्रेस सक्किने लक्षण हो। तपाईहरुले पचासौं वर्ष देशमा शासन गर्नुभयो। एकपटक कम्युनिष्टको पूर्ण बहुमतको शासन हेर्नुस्, हामी देशलाई नयाँ युगमा लैजान्छौं। हामी लोकतान्त्रिक प्रणालीबाटै जान्छौं, अधिनायकवाद तपाईहरुको भूत मात्र हो।

“ जनयुद्धका घाइतेको गोली हामी निकाल्छौं, “ओली“ चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले जनयुद्धका घाइतेहरुका शरिरका गोली बामपन्थी सरकारले निकाल्ने बताउनु भयो। “तपाईहरुले परिवर्तनका लागि लडाई लड्नुभयो। जनयुद्ध र जनआन्दोलनमा तपाईहरुले गर्नुभएको योगदानको म सम्मान गर्छु“ गल्कोटमा आयोजित चुनावी सभामा ओलीले भन्नुभयो, जनयुद्ध लडेका साथीहरुले चिन्ता नलिनुस्, तपाईहरुको शरिरका गोली हामी निकाल्छौं। रोजगारीको वातावरण सिर्जना गर्छौं, तपाईहरुले गरेको त्याग र बलिदानको सम्मान गर्छौं।“

“पुसको पहिलो हप्ता बामपन्थी सरकार बन्छ। हामी त्यसैका लागि देशव्यापी अभियानमा छौं। बामपन्थी सरकारलाई कसैले रोक्नै सक्दैन“ कुश्मा बजारमा अध्यक्ष ओलीले भन्नुभयो, “अब नेपालमा राजनीतिक स्थिरताको युग सुरु भयो, समृद्धिको युग सुरु भयो। कम्युनिष्टहरुको एकता कसैले रोक्न सक्दैन। हामी नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाएर देखाउँछौं। चुनावपछि एमाले र माओवादीको पुच्छर हटाउँछौं, शक्तिशाली कम्युनिष्ट पार्टी बनाउँछौं।“

 

प्रतिक्रिया दिनुहोस