निर्वाचित हमालकोे शपथ ग्रहण

सफल खबर संवाददाता

बुधबार, १८ मंसिर २०७६, १३ : १६
निर्वाचित हमालकोे शपथ ग्रहण

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १६ का नवनिर्वाचित अध्यक्ष अमृतराज हमालले शपथ लिनुभएको छ । बुधबार महानगरमा महानगर प्रमुख रेनु दाहालले हमाललाई शपथ गराउनु भएको हो ।

कार्यक्रमका प्रमुख अतिथी दाहालले हमाललाई शपथ गराउँदै सफल कार्यकालको शूभकामना दिनुभयो । उहाँले नगरवासीको चाहना बमोजिम अगाडि बढ्ने क्रममा विजयी हमालको रचनात्मक साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । 

जिल्ला न्यायाधिस हेमन्त राज रावलले निर्वाचित जन प्रतिनिधी प्रचलित कानुन संविधान र नागरिक प्रति पूर्ण उत्तरदायी हुनुपर्ने बताउँदै कार्य सम्पादनमा निश्पक्ष, पारदर्शी र जवाफदेही भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । स्थानीय निकायहरूमा न्याय निरूपणको अधिकार समेत कानुनले प्रत्याभूत गरेको भन्दै उहाँले त्यसलाई सवेदनशिल भएर कदम चाल्न आग्रह गर्नुभयो ।

नेकपाका नेता वद्री तिमिल्सिनाले विजयी हमाललाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै वडा र महानगरपालिकोको विकास र नागरिकको सेवामा लाग्न आग्रह गर्नुभयो ।

नेपाली काँग्रेस जिल्ला समिति चितवनका सभापति जितनारायण श्रेष्ठले निर्वाचन एउटा प्रकृया मात्र भएको भन्दै निर्वाचन पछि कुनै दल विशेष वा समुदायिक विशेष नभई साझा भावनाका साथ भरतपुर महानगरको विकासमा केन्द्रित हुन आग्रह गर्नुभयो । भरतपुर महानगरपालिकाको विकास र समृद्धिको लागि पक्ष प्रतिपक्ष नभएको भन्दै कांग्रेस सदैव सहयोगी हुने बताउनुभयो ।

विजयी वडा अध्यक्ष अमृतराज हमालले महानगरपालिकाको वृहत्तर विकास र नगरवासीको सेवामा पार्टीभन्दा माथि उठेर लागिपर्ने प्रतिद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीको सहभागिता रहेको थियो ।
 

प्रतिक्रिया दिनुहोस