भारतको जीतमा कोहलीको किर्तिमान

विहीबार, २५ माघ २०७४, १० : १०
भारतको जीतमा कोहलीको किर्तिमान

केपटाउन । कप्तान विराट कोहलीको ३४ औँ शतकको मद्दतले एकदिवसीय शृंखलाको तेस्रो खेलमा भारतले दक्षिण अफ्रिकालाई १२४ रनको विशाल अन्तरले पराजित गरेको छ ।
 कोहलीले अविजित रहँदै १ सय ६० रन बनाउँदा भारतले पहिलो ब्याटिङ गर्दै ३ सय ३ रन बनाएको थियो ।

जवाफमा दक्षिण अफ्रिकाको टोली ४० ओभरमा मात्र १७९ रन बनाएर अलआउ हुन पुग्यो ।
 दक्षिण अफ्रिकाका लागि जेपी डुमिनीले सर्वाधिक ५१ रन बनाए । भारतको तर्फबाट स्पीनर युजवेन्द्र चहल र कुलदीप यादवले ४–४ विकेट लिए ।
फास्ट बलर जसप्रीत बुमराहले पनि दुई विकेट लिए । जीतसँगै भारतले ६ खेलको शृंखलामा ३–० को अग्रता लिएको छ । शृंखलाको चौँथो खेल १० फेब्रुअरीमा जोहानसबर्गमा आयोजना हुनेछ ।

कोहलीको किर्तिमान
भारतीय कप्तानका रुपमा कोहलीको यो १२ औँ शतक थियो । यो सँगै उनी सबैभन्दा धेरै शतक लगाउने भारतीय कप्तान बनेका छन् । यसअघि शौरभ गांगुलीले ११ एकदिवसीय शतक लगाएका थिए ।

खेलमा भारतको शुरुवात भने राम्रो भएन । पहिलो ओभरमा नै शुन्य रनमा रोहित शर्मालाई गुमाउन पुगेको थियो । तर, त्यसपछि शिखर धवन र कोहलीले भारतको पारी सम्हाले ।
कोहलीले २ छक्का र १२ चौकाको मद्दतले १६० रन बनाए भने धवनले पनि ७६ रनको महत्वपूर्ण योगदान दिए ।
 दक्षिण अफ्रिकाका लागि जेपी डुमिनीले २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस