प्रधानमन्त्रीको उपचारपछि चिकित्सकहरुले भने– भोलिको कुरा समयले बताउँछ, अहिले उहाँ खतरामुक्त हुनुहुन्छ

सफल खबर संवाददाता

शुक्रबार, १३ मंसिर २०७६, १२ : ४१
प्रधानमन्त्रीको उपचारपछि चिकित्सकहरुले भने– भोलिको कुरा समयले बताउँछ, अहिले उहाँ खतरामुक्त हुनुहुन्छ

काठमाडौं । उपचारमा संलग्न चिकित्सकहरुले प्रधानमन्त्री केपी शर्मा ओली खतरामुक्त हुनुभएको बताएका छन् । प्रधानमन्त्रीको उपचारपछि चिकित्सकहरुले पत्रकार सम्मेलन गरी प्रधानमन्त्री खतरामुक्त हुनुभएको बताएका हुन् । 

प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । 

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भइरहेको र उहाँ खतरामुक्त हुनुभएको निजी चिकित्सक डा दिब्या सिंह शाहले जानकारी दिनुभयो ।। उहाँले भन्नुभयो, ‘अहिलेको अवस्थामा खतरामुक्त हुनुहुन्छ । भोलिको कुरा समयले बताउँछ ।’

उपचारमा संलग्न डा रमेश सिंह भण्डारीले प्रधानमन्त्रीको संक्रमण पेटभरी फैलिएको थियो । लक्किली ठीक समयमा सबै हेरियो र चाँडै अप्रेसनको निर्णय लिन सफल भइएको बताउनुभयो । प्रधानमन्त्री ओलीको स्वास्थ्य अपेक्षा गरेभन्दा राम्रो सुधार भइरहेको समेत उहाँले बताउनुभयो । 

यसैगरी डा शाहले अप्रेसन गरेको विरामीमा धेरै रक्तस्राव वा संक्रमण नहोस् भनेर प्लेटलेट्स चढाइएको बताउनुभयो । 
डा सिंहका अनुसार एपेन्डिसाइटिसको अप्रेसनका क्रममा पनि दुई पटक डायलासिस गरिएको छ ।

प्रधानमन्त्री ओलीको करिब १२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो । पछिल्लो समय मिर्गौलाले राम्रोसँग काम नगरेपछि डायलासिस गर्न थालिएको थियो ।

डा शाहका अनुसार एपेन्डिसाइटिसको उपचार अपेक्षाअनुसार सफल भयो र घाउहरु पुरियो भने छिट्टै पुनः मिर्गौला प्रत्यारोपणमा जाने सम्भावना छ । प्रधानमन्त्री ओलीलाई अहिले पनि सेन्टरको सघन उपचार कक्ष आइसियूमा राखिएको छ। प्रमको एपेन्डिक्सको शल्यक्रिया भएको आज तेस्रो दिन पूरा भएको छ। प्रधानमन्त्रीको अहिले मनमोहन कार्डियक थोरासिक एण्ड भास्कुलर सेन्टरमा उपचार भएको छ  ।
 

प्रतिक्रिया दिनुहोस