कविता : आँखा नला भारत

बुधबार, ११ मंसिर २०७६, २० : २५
कविता :  आँखा नला भारत

 

 

_ प्रकाश चापागाईं

घाम सुवर्ण लेपन गरी शृङ्गार भर्दै थियो

त्यै शृङ्गार विशेषले हिम नदी चाँदी झरेझैँ थियो
छन् मैदान हराभरा र रसिला मोती बगेका स्थल
यो सौन्दर्य र सम्पदा शिखरमा आँखा नला भारत

हे भस्मासुर फ्याउरे नजरले नेपाल के हेर्दछस्
भन्दै मित्र छिमेकका घर पसी भण्डार के फोर्दछस्
के दिन्छस् र अथाह राहत यता दिन्छस् सधैँ आहत
यो हाम्रो लिपुलेक निल्दछु भनी आँखा नला भारत

पर्दा सङ्कटकाल विश्व किन यो नेपाल बोलाउँछन
आफ्नो गौरव वीरका रगतले छापेर लेखाउँछन्
हाम्रा वीर विराङ्गनासमरमा देखाउँछन् हिम्मत
हामी सिंह बनेर उठ्न नपरोस् आँखा नला भारत

सक्छस् सम्झिन वीरले अघि कहाँ खाँडो पखाल्दै थिए
गोर्खा सैनिक म्लेक्षको जग जरो खोस्री उखेल्दै थिए
हाम्रै सैनिक शक्तिबाट अहिले तेरो बढ्यो हिम्मत
नेपाली अब गर्जिने समय भो आँखा नला भारत

साक्षी छन् इतिहासका हरफ तेँ वेलायती दास होस्
पैताला चटुवा र काँतर तँ होस् डाँका कुलाङ्गार होस्
हामी शान्ति र कान्ति निम्ति जहिल्यै हुन्छौँ प्रतिक्षारत
हाम्रा गौतमबुद्धका पयरमा आँखा नला भारत

हामी मालिकनैँ थियौँ विगतमा हामी अझै मालिक
पाजी दास बराजुका अघि सरी भत्काउँछस् सालिक
मैदानी मरुभूमिमा रुमलिदै ताक्छस् महाभारत
फोक्सोमैँ अवरोध गर्दछु भनी आँखा नला भारत

प्रतिक्रिया दिनुहोस