काठमाडौं । राजस्व अनुसन्धान विभागले अवैध रूपमा सुनको ओसारपसार गर्ने संखुवासभाका तोप्के भोटेविरुद्ध ३ करोड २६ लाख ५० हजारको बिगो दाबीसहितको मुद्दा दायर गरेको छ । भोटेले करिब १५ करोड १३ लाख २४ हजार रुपैयाँ मूल्यबराबरको २५ केजी सुन भन्सार छलेर राजस्व चुहावट गरेको कसुरमा संखुवासभा जिल्ला अदालत चैनपुरमा मंगलबार सो मूल्यको दोब्बर बिगो दाबीसहित मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
विभागका सूचना अधिकारी राजीव पोखरेलले जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको टोलीले चेकजाँचको क्रममा तोप्के भोटेको शरीर तथा निजले बोकेको झोलाबाट बिना बिलविजक लुकाइछिपाइ ल्याउँदै गरेको २५ केजी सुन बरामद गरेको जानकारी गराए ।
जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धानमा खटिएको टोलीले तोप्के भोटे, रिन्जिन भोटे, जर्गा भोटे, छिरिङ भोटे, ग्यात्सो भोटे, क्यमा भोटे र सोनाम डोमा भोटेसमेतले आपसी मिलेमतो गरी सुन तस्करी गरी राजस्व चुहावट गरी ल्याएको विभागले जनाएको छ । सुन तस्कारी गर्नेहरूले १ अर्काको बैंक खातासमेत प्रयोग गरी यसभन्दा पहिला पनि चारपटकसम्म यस्तै प्रकृतिको सुन भन्सार चोरीपैठारी गरेको देखिएको विभागले जनाएको छ ।
उनले यस्तो कार्यमा संलग्न राजस्व माराले ल्याएको २५ केजी सुनको मूल्य १५ करोड १३ लाख २५ हजार रुपैयाँलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार बिगो कायम गरी सो सुन जफत गरी सोही ऐनको दफा २३(१) बमोजिम बिगोको दोब्बरसम्म जरिमाना र तीन वर्षसम्म कैद सजाय हुनेगरी मुद्दा दायर गरेको बताए ।
यसैगरी, २५ केजी सुन खरिद गर्न प्रयोग भएको १५ करोड १३ लाख २५ हजार नेपाली रुपैयाँबराबर हुने विदेशी मुद्रा अवैध रूपमा विदेशमा भुक्तानी गरेको स्वत प्रमाणित हुने हुँदा सो सुन ल्याउन उनीहरूले अवैध रूपमा विदेशमा भुक्तानी गरी विदेशी विनिमय अपचलन गरेको देखिएकाले विदेशी विनिमय (नियमन गर्ने) ऐन, २(१) को दफा (ग र दफा १७ को उपदफा (१) बमोजिमको कसुरमा बिगो असुलउपर गर्नसमेत विभागले माग गरेको छ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ११ मंसिर २०७६, ०६ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुन तस्कर आरोपितलाई दोहोरो नागरिकता दिने कर्मचारीलाई तोकीयो कैद सजाय र जरिवाना