निर्माण व्यवसायी महासंघको धर्ना कार्यक्रम स्थगित, आन्दोलनका अन्य कार्यक्रम यथावत्

सफल खबर संवाददाता

मंगलबार, १० मंसिर २०७६, १७ : ४७
निर्माण व्यवसायी महासंघको धर्ना कार्यक्रम स्थगित, आन्दोलनका अन्य कार्यक्रम यथावत्

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङसँग मंगलवार दिउँसो भएको छलफल सकारात्मक भएपछि नेपाल निर्माण व्यवसायी महासंघले प्रधानमन्त्री कार्यालय बालुवाटारमा धर्ना दिने कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ । प्रदेश महासंघले मुख्यमन्त्रीको कार्यालय र जिल्ला संघहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने कार्यक्रम पनि तत्कालका लागि स्थगित गरिएको महासंघले जनाएको छ । प्रधानमन्त्रीको अस्वस्थतालाई समेत मध्यनजर गरी धर्ना कार्यक्रम तत्कालका लागि स्थागित गरिएको महासंघको भनाइ छ ।

महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँगको छलफलमा मन्त्री नेम्बाङले व्यवसायीका माग सम्बोधन गर्ने गरी ऐन नियम ल्याइने जानकारी दिनुभयो । व्यवसायी मैत्री ऐन नियम बनाउने काम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नभई सार्वजनिक खरिद अनुगमन कार्यालयको हो भन्दै मन्त्री नेम्बाङले व्यवसायीका लागि अनुकुल ऐन नियम बनाउन सहयोगी भूमिका खेल्ने बताउनुभयो ।  स्वदेशी निर्माण व्यवसायीलाई पाखा लगाउने सोच सरकारको नरहेको प्रष्ट पार्दै मन्त्री नेम्बाङले मुलुकको भौतिक पूर्वाधारको विकास गर्ने दायित्व स्वदेशी व्यवसायीकै भएको बताउनुभयो । सरकारसँगको वार्ता र संवादसँग सँगसँगै आन्दोलनको अन्य कार्यक्रम भने यथावत् रहेको महासंघका महासचिव रोशन दाहालले जानकारी दिनुभयो । म्याद थप, बैंक क्रेडिट लाइन, लगायतका मागहरुमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनको पूर्व निर्धारित कार्यक्रम अनुसार सोमबार र मंगलवार  विहान साँडे ९ बजेदेखि एक घण्टा प्रधानमन्त्री निवास बालुवाटार अगाडि शान्तिपूर्ण धर्ना दिएको थियो ।

प्रतिक्रिया दिनुहोस