उपचुनावमा बर्चश्व देखाउन शिर्ष नेताहरुका दौडधुप

पत्रपत्रिकाबाट

मंगलबार, १० मंसिर २०७६, ०६ : ४७
उपचुनावमा बर्चश्व देखाउन शिर्ष नेताहरुका दौडधुप

काठमाडौँ । उपनिर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन हुने क्षेत्रहरुमा प्रमुख पार्टीका शीर्ष नेताको दौडधूप तीव्र बनेको छ । चुनावी नतिजा आफ्नो पार्टीको पक्षमा पार्न प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु आफैं चुनावी प्रचार प्रसारमा खटिएका छन् । सत्तारुढ दल नेकपा देखि प्रमुख विपक्षी दल कांग्रेस, मधेशवादी दल देखि समाजवादी र साझा पार्टीसम्मका शीर्ष नेता उपचुनाव हुने क्षेत्रमा पुगेर प्रचारमा जुटेका छन्।

शीर्ष नेताहरुको यो दौडधुपले उपचुनावलाई उनीहरुले दिएको महत्व पनि झल्किएको छ। महत्व यस अर्थमा कि वार्ड अध्यक्षका लागि हुने उपनिर्वाचन क्षेत्रमा पनि प्रमुख नेता पुगेका छन्।आइतबार चितवन पुगेका सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सोमबार भरतपुर महानगरपाली–१६ मा पुगेर चुनावी सभालाई सम्बोधन गरे। त्यहाँ वडा अध्यक्षको लागि निर्वाचन हुँदैछ।

कास्की–२ मा प्रतिनिधिसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा पार्टीका उम्मेदवार खेमराज पौडेलका पक्षमा जनमत सिर्जना गर्न कांग्रेसका शीर्ष नेता शुक्रबार र शनिबार कास्कीमै बसे। सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रमुख सचेतक बालकृण्ण खांड, शेखर कोइराला, मिनेन्द्र रिजाल, गगन थापालगायतका नेताहरु कास्की पुगेका थिए।

चुनावी प्रचारका लागि आइतबार समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा। बाबुराम भट्टराई र पार्टी अध्यक्ष उपेन्द्र यादव कास्की पुगेका थिए। उनीहरु चुनावी र्‍यालीमा सहभागी भए र सभालाई सम्बोधन गरे। समाजवादीले सो क्षेत्रमा पूर्व गोर्खा सैनिक एवं इन्जिनियर धर्मराज गुरुङलाई उम्मेद्वार बनाएको छ।

नेकपाका अध्यक्ष दाहाल र महासचिव विष्णु पौडेल उम्मेद्वारी मनोनयन दर्ताकै दिन कास्की पुगेका थिए। नेकपाले सो क्षेत्रमा तत्कालिन सांसद तथा मन्त्री स्व। रविन्द्र अधिकारी पत्नी विद्या भट्टराईलाई उम्मेद्वार बनाएको छ। यसअघिको निर्वाचनमा जित हासिल गरेको नेकपा आफ्नो विरासत जोगाउन कस्सिएर लागेको छ। कांग्रेसले पनि उपचुनावलाई प्रतिष्ठाको लडाईंका रुपमा लिएको छ।

कास्की–२ मा जस्तै अरु निर्वाचन क्षेत्रमा पनि शीर्ष नेताको दौडधूप कायमै छ। शनिबारमात्रै अध्यक्ष दाहाल र महासचिव पौडेल बागलुङको बुर्तिवाङ पुगेर चुनावी सभालाई सम्बोधन गरेका थिए। नेकपाले बागलुङ २ को–‘ख’मा राष्ट्रिय जनमोर्चाका उम्मेद्वार खिमबिक्रम शाहीलाई समर्थन गरेको छ। कांग्रेस सभापति देउवा आईतबार बागलुङको बुर्तिवाङ पुगे र त्यहाँको चुनावी सभालाई सम्बोधन गरे। कांग्रेस नेता पूर्व गृहमन्त्री कृष्ण सिटौला यसअघि नै बागलुङको चुनावी प्रचार प्रसारमा सहभागी भएर फर्किएका छन्। कांग्रेसले प्रदेशसभा सदस्यको लागि जीत शेरचनलाई सो क्षेत्रमा उम्मेद्वार बनाएको छ।

चुनावी प्रचार प्रसारका लागि भक्तपुरमा पनि नेकपा नेताहरुको दौडदूप बाक्लो छ। भक्तपुर १ ९क० मा प्रदेशसभा सदस्यको लागि उपनिर्वाचन हुँदैछ। सो क्षेत्रमा नेकपाले डिपी ढकाललाई उम्मेद्वार बनाएको छ। उनको प्रचारका लागि नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल, सचिवालय सदस्य वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यलगायतका नेताहरू भक्तपुरमा घरदैलो र चुनावी सभामा सहभागी भइसकेका छन्।

र, सो क्षेत्रमा चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष दाहाल लगाएतका अन्य शीर्ष नेता पनि त्यहाँ जाने भएका छन्। यस्तै कांग्रेसका नेताहरु पनि सो क्षेत्रमा पुगेर आफ्ना उम्मेद्वारको पक्षमा प्रचार गरेका छन्। यस्तै नेमकिपाका अधिकाशं नेताहरु पनि सो क्षेत्रको चुनावी प्रचारमा खटिएका छन्। त्यस्तै, दाङको ३ ‘ख’मा नेकपाका उमेद्वार विमला क्षेत्री वलीका लागि मुख्यमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेल, पूर्वसभामुख ओनसरी घर्ती, केन्द्रीय नेताहरू मेटमणि चौधरी, शान्ता चौधरीलगायतका चुनावी घरदैलोमा खटिरहेका छन्। सो क्षेत्रमा नेकपाका शीर्ष नेता चुनावी सभालाई सम्बोधन गर्न जाने भएका छन्।

सोमबार मात्रै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल चुनाव प्रचारकै लागि दाङ पुगेका छन्। कांग्रेसले केशव आचार्यलाई त्यहाँबाट उम्मेद्वार बनाएको छ। यस अघि कांग्रेसका अन्य नेताहरु त्यहाँ पुगेका थिए। धरान उपमहानगरपालीकाको प्रमुखका लागि हुने निर्वाचनमा पनि कांग्रेस र नेकपाका नेताहरु सो क्षेत्रमा पुगेर प्रचार गरिरहेका छन्। यसअघि नेपाली कांग्रेस उपसभापति विजयकुमार गच्छदार, विमलेन्द्र निधिलगायतका नेता चुनाव प्रचारका लागि धरान पुगेका थिए। कांग्रेसले सो क्षेत्रमा तिलक राईलाई उम्मेद्वार बनाएको छ।

नेकपाका नेता भीम आचार्य धरानको चुनावका लागि खटेका छन्। त्यहाँ शीर्ष नेता पनि चुनावी सभालाई सम्बोधन गर्न जाने भएका छन्। नेकपाले सो क्षेत्रमा प्रकाश राईलाई उम्मेद्वार बनाएको छ। यस्तै केही दिन अघि नेकपा अध्यक्ष दाहाल महोत्तरी पुगेर त्यहाँको चुनावी सभालाई सम्बोधन गरे। त्यहाँ वडा अध्यक्षको लागि निर्वाचन हुँदैछ।

नेताहरुले चुनावी नतिजा आफ्नो पक्षमा पार्न कतै विकासका आश्वासन दिएका छन् भने कतै एक अर्का पार्टीमाथि हमला गरेका छन्। कांग्रेसका नेताहरुले सत्तारुढ नेकपामाथि हमला गरेका छन् भने नेकपाका नेताले कांग्रेसमाथि। चुनावको दौरानमा गएका नेताहरुले आफ्ना राजनीतिक मुद्दाबाट भट्केर व्यक्तिगत अभिव्यक्ति पनि दिएका छन्।
मंसिर १४ गते प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभाका तीन, उपमहानगरपालिका एकसहित ५० स्थानमा उपचुनाव हुँदैछ। मंसिर १२ को रातीसम्म मात्रै चुनाव प्रचार गर्न पाइन्छ। त्यसपछि शुन्य समयमा चुनाव प्रचार रोक्नुपर्छ। कान्तिपुर दैनिकमा खबर छ । 
 

प्रतिक्रिया दिनुहोस