बुद्ध एयरले विराटनगर र भद्रपुरबाट काठमाडौँ तथा पोखराका लागि उडान भर्ने तयारी

रासस

सोमबार, ०९ मंसिर २०७६, ०९ : ५४
बुद्ध एयरले विराटनगर र भद्रपुरबाट काठमाडौँ तथा पोखराका लागि उडान भर्ने तयारी

विराटनगर । बुद्ध एयरले प्रदेश नं १ बाट प्रादेशिक हवाई उडान भर्ने भएको छ । मङ्सिर १५ गतेदेखि विराटनगर र भद्रपुरबाट काठमाडौँ तथा पोखराका लागि उडान भर्ने तयारी गरिएको बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो । 

भद्रपुर र विराटनगरदेखि पोखरासम्मको ट्रान्जिट फ्लाइटसम्बन्धी बुद्ध एयरद्वारा आइतबार आयोजित कार्यक्रममा उहाँले परीक्षणस्वरुप सो कार्य छ महिना सञ्चालन गरिने र कम्पनीले नोक्सान व्यहोर्नुपर्ने स्थिति नभएमा सधैँ सेवा जारी राख्ने बताउनुभयो । नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पु¥याउन प्रदेश सरकारको आग्रहमा उक्त सेवा सञ्चालनमा ल्याउँदा आन्तरिक र बाह्य पर्यटकलाई विशेष फाइदा पुग्ने निर्देशक बस्नेतको भनाइ थियो । शुरुमा हप्तामा तीन दिन सो सेवा सञ्चालन गर्ने बस्नेतले बताउनुभयो । 

सो अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सबै सेवामा आमनागरिकको पहुँच पु¥याउनु नै समृद्धिको शुरुआत भएको बताउनुभयो । उहाँले सो सेवालाई दिगो र प्रभावकारी बनाउन प्रदेश सरकारले भूमिका निर्वाह गर्ने भन्दै विराटनगर विमानस्थललाई स्तरोन्नति गर्ने जानकारी दिनुभयो । विराटनगर विमानस्थलको धावनमार्गलाई दुई हजार ४ सय मिटर बनाउन प्रदेश सरकारले पहल गरिरहेको उहाँको भनाइ थियो ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले बुद्ध एयरले विराटनगर र काठमाडौँदेखि पोखरा सेवालाई सीधा सेवा शुरु गर्नसके सेवाग्राही लाभान्वित हुने बताउनुभयो । उहाँले यसबाट सेवाग्राहीलाई खर्च पनि कम हुने र गन्तव्यमा पनि पुग्न सजिलो हुने भएकाले यसतर्फ कम्पनीको ध्यान जाओस् भन्नुभयो । भारतको विहार प्रान्तको पटनामा बाहेक अन्यत्र विमानस्थल नभएकाले भारतीय नागरिकले पनि प्रशस्त लाभ लिन सक्नेछन् । रासस

प्रतिक्रिया दिनुहोस