संयुक्त राष्ट्रसंघद्वारा चिन्ता व्यक्त

एजेन्सी

शनिबार, ०७ मंसिर २०७६, १५ : २२
संयुक्त राष्ट्रसंघद्वारा चिन्ता व्यक्त

संयुक्त राष्ट्रसंघ । लामो समयदेखिको राजनीतिक अस्थिरताका साथै खडेरी र मौसमको प्रतिकुलताका कारण हाइटीमा खाद्य असुरक्षा बढ्दै गएकोमा संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ । 
हालैका महिनाहरुमा यहाँको ठूलो जनसंख्याले खाद्यान्न अभाव झेलिरहेकोमा अब थप नागरिक यसको समस्यामा पर्न सक्ने भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको हो । 
संयुक्त राष्ट्रसंघीय खाद्य कार्यक्रमले केही दिनअघि प्रकाशन गरेको इन्टिग्रेटेड फेज क्लासिफिकेसन (आइपिसी) प्रतिवेदनमा अहिले पनि यहाँका करिब ३७ लाख नागरिक खाद्यान्न अभावको समस्यामा परिरहेका छन् । 
यो संख्या अरु बढ्न सक्ने र यसबाट आगामी केही दिनमै यहाँ संकटपूर्ण अवस्था आउन सक्ने पनि सो समाचारमा जनाइएको छ ।  
सो प्रतिवेदनले हाइटीमा खाद्यान्न अभावको समस्या एकपछि अर्काे गरी बढ्दै गएकोले यसको समाधानका लागि विशेष कदम चाल्नुपर्ने सुझाव दिएको छ । 
हाइटीमा केही महिनादेखि आन्दोलन भइरहेको छ । राजनीतिक अस्थिरताका कारण यहाँको अवस्था अस्तव्यस्त भएको, दिनहूँजसो विरोध प्रदर्शन हुने गरेकोले दैनिक प्रशासन सञ्चालन र बन्द व्यापारमा पनि असर परेको बताइएको छ । 
आगामी मार्च महिनासम्ममा यहाँ कम्तीमा पनि ४० लाख नागरिकले खाद्यान्न अभावको समस्या झेल्नसक्ने उक्त प्रतिवेदनले औँल्याएको छ । 
संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले हाइटीको यो अवस्था अत्यन्तै संकटपूर्ण भएकोले यसप्रति सबै गम्भीर हुनुपर्ने बताएको छ । 
 राजनीतिक अस्थिरताका कारण यहाँका विपक्षी दलहरुले महिना दिन भन्दा लामो समयदेखि सरकारका विरुद्धमा प्रदर्शनहरु जारी रहेका छन् । 
यसका कारण हाइटीमा आर्थिक उत्पादनमा असर परेको र खाद्यान्नको कमी हुने खतरा अहिलेको भन्दा झन् बढेको संयुक्त राष्ट्रसंघको उक्त प्रतिवेदनमा जनाइएको हो । 
यही विरोध प्रदर्शनका कारण यहाँ गएको सेप्टेम्बरको मध्यदेखि यहाँको व्यापार व्यावसायका साथै विद्यालय, विश्वविद्यालयहरु पनि बन्द रहेका तथा अन्य प्रशासनिक लगायतका दैनिक कार्यहरु सञ्चालन गर्न पनि अप्ठेरो परेको अधिकारीहरुको भनाई छ ।  (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस