माधव निवासमा प्रचण्ड–नारायणकाजीको जमघट

पार्टीको अबको स्थायी समिति र केन्द्रीय समिति बैठक बोलाउने देखि मन्त्रिपरिषद् पूर्नगठनमा पारिएका मन्त्रीहरुका विषयमा पनि छलफल

सफल खबर संवाददाता

शुक्रबार, ०६ मंसिर २०७६, ०७ : ५०
माधव निवासमा प्रचण्ड–नारायणकाजीको जमघट

फाईल फोटो

काठमाडौं । पार्टी सञ्चालनमा कार्यकारी अधिकार पाएपछि अध्यक्ष प्रचण्डको राजनीतिक सम्वाद शुरु भएको छ । पार्टी शीर्ष नेताहरुसँग एक चरण छलफल गरेर पार्टी बैठक बोलाउने योजनामा रहेका प्रचण्डले माधव नेपाल निवासमै पुगेर पार्टीका केही नेताहरुसँग आन्तरिक छलफल गरेका छन् ।

छलफलमा वरिष्ठ नेता नेपालका अतिरिक्त प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश पनि सहभागी थिए । छलफलका लागि प्रचण्ड बिहिवार बिहानै नेपाल निवास कोटेश्वर पुगेका थिए । त्यहाँ तीन नेताले आन्तरिक छलफल गरे । पार्टीको अबको स्थायी समिति र केन्द्रीय समिति बैठक बोलाउने देखि मन्त्रिपरिषद् पूर्नगठनमा पारिएका मन्त्रीहरुका विषयमा पनि छलफल गरेको नेपाल निकट स्रोतले बतायो ।

नेता नेपालका स्वकिय सचिव मोहन गौतमले पनि तीन नेताका बीचमा छलफल भएको र समसामयिक राजनीति छलफलको विषय रहेको बिताए । तर उनले नेताहका बीचको कुरा आफुलाई जानकारी भई नसकेको बताए । बुधबारको सचिवालय बैठकले पार्टीका दुई अध्यक्षमध्ये प्रधानमन्त्री केपी ओलीलाई आगामी ५ वर्ष नै सरकारको नेतृत्व र प्रचण्डलाई कार्यकारी अधिकारसहित पार्टीको जिम्मा दिने गरी कार्य विभाजन टुंग्याएको थियो ।

कार्यविभाजन पछि प्रचण्डले प्रधानमन्त्री ओलीको अनुपस्थितिमा पनि पार्टीका बैठकहरू बोलाउने, निर्णय गर्ने र ती निर्णयहरू पार्टीका तल्ला कमिटीसम्म सर्कुलर गर्न सक्ने गरी अधिकार पाएका छन् । यसका अतिरिक्त पार्टीका बैठकहरुमा दुवै अध्यक्षले अध्यक्षता गर्ने तर पनि आम रुपमा बैठकको अध्यक्षता र सञ्चालन प्रचण्डले गर्ने भएपछि प्रचण्ड राजनीतिमा सक्रिय हुन लागेका हुन् । प्रचण्डले पार्टी एकताको १८ महिनापछि दुई अध्यक्षको कार्यविभाजन गदै प्रचण्डलाई पार्टी कामको जिम्मेवारी दिएपछि अबको पार्टी कार्यक्रम कसरी अगाडी बढाउने भन्नेमा उनी नेताहरुसँगको आन्तरिक छलफलमा लागेका हुन् ।

पार्टी महासचिव र अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग निरन्तर सम्वादमा रहेका प्रचण्डले सचिवालयका सबै नेताहरुसँग एक चरण छलफल गर्ने र त्यसपछि पार्टी बैठक बोलाउने तयारी थालेका छन । पार्टीमा कार्यकारी जिम्मा पाउने बेलामै दुई अध्यक्षका बीचमा अब बैठक बोलाउने विषयमा पनि सामान्य छलफल भईसकेको छ । नेकपामा पार्टी एकताको यो १८ महिनाका बीचमा एक पटक पनि केन्द्रीय समितिको बैठक बसेको छैन ।

स्थायी समिति बैठक नबसेकै पनि झण्डै एक वर्ष पुगेको छ । गत वर्षको मंसिर २९ देखि पुस १३ सम्म स्थायी समितिको बैठक बसेको थियो । त्यसपछि नेकपाले स्थायी समितिकै बैठक समेत बोलाएको छैन । जे जति निर्णय लिएको छ, ति सबै सचिवालयको बैठक राखेर लिएको भन्दै पार्टीभित्र असन्तुष्टि तिव्र छ । यी सबै विषयलाई समाधान गदै पार्टीलाई विधान अनुसार ब्यवस्थित बनाएर लैजाने दायित्व अब प्रचण्डको काँधमा आएको छ । त्यही भएर पनि उनले पार्टी नेताहरुसँग आन्तरिक परामर्श थालेका हुन् ।

नेता नेपाल पार्टीमा फरक धारको नेतृत्व गरिरहेका छन् । उनले यो १८ महिनाका बीचमा पार्टीमा तीन पटक फरक मत राखिसकेका छन् । त्यसको सम्बोधन गर्ने र पार्टीलाई गतिमा लैजानका लागि के गर्ने भन्नेमा पनि प्रचण्ड नेताहरुसँगको परामर्शमा लागेका हुन् । प्रचण्डले पार्टी एकीकरणका बाँकी काम, विभाग र जनवर्गीय संगठनहरूको पूर्णता, प्रदेश २ कमिटीमा देखिएको विवाद देखि अन्य पार्टीका भैपरी आउने सम्मका सवै काममा लिड गर्नेछन् । यी विषयमा पनि अध्यक्ष प्रचण्डले वरिष्ठ नेता नेपाल र प्रवक्ता श्रेष्ठसँग छलफल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस