प्रचण्डलाई अब पार्टीमा के–के हुन्छ अधिकार ?

प्रचण्डले अब प्रधानमन्त्री ओलीको अनुपस्थितिमा पनि पार्टीका बैठकहरू बोलाउने, निर्णय गर्ने र ती निर्णयहरू पार्टीका तल्लो कमिटीसम्म सर्कुलर गर्न सक्ने

सफल खबर संवाददाता

विहीबार, ०५ मंसिर २०७६, ०८ : २१
प्रचण्डलाई अब पार्टीमा के–के हुन्छ अधिकार ?

काठमाडौं । सत्तारुढ दल नेकपाको दुई अध्यक्ष मध्ये पार्टी कामको ‘कार्यकारी’ अधिकार प्रचण्डले पाएका छन् । तत्कालिन एमाले र माओवादी केन्दबीचको पार्टी एकताको १८ महिनापछि दुई अध्यक्षको कार्यविभाजन टुग्याउँदैं नेकपाले प्रचण्डलाई पार्टीको ‘कार्यकारी’ अधिकार दिएको हो ।
अब प्रचण्ड पार्टीमा निर्णायक स्टाइकर हुनेछन् । उनी पार्टीका काममा मुख्य रुपमा केन्द्रीत हुनेछन् । बुधबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको सचिवालय बैठकले दुई अध्यक्षका बीचमा प्रष्ट कार्यविभाजन गर्दै ओलीलाई आगामी संसदको चुनाव अगाडी सम्मै सरकार र प्रचण्डलाई आगामी महाधिवेशनसम्मै पार्टीको जिम्मा दिने निर्णय भएको हो ।
सचिवालयको निर्णय अनुसार यसरी भएको छ दुई अध्यक्षका वीचमा कार्यविभाजन ।
***    बरियताक्रममा दुबै अध्यक्ष (ओली–प्रचण्ड) को यथावत रहने । अर्थात, ओली पहिलो र प्रचण्ड पार्टीमा वरियता क्रममा दोश्रो रहनेछन् ।
***    ओली प्रधानमन्त्रीको हैसियतमा सरकारको काममा केन्द्रीत हुने प्रचण्ड कार्यकारी अधिकार सहित पार्टी काममा केन्द्रीत हुने ।
***    वैठक संयुक्त अध्यक्षतामा सञ्चालन गर्ने । आम रुपमा बैठकको अध्यक्षता र सञ्चालन प्रचण्डले गर्ने ।
***    प्रतिनिधीसभाको यस कार्यकालमा सरकारको नेतृत्व ओलीले गर्ने र राजनीतिक स्थायीत्वको सन्देश दिने ।
***    पार्टी र सरकार सञ्चालन अध्यक्षद्धय बीचको आपसी सल्लाहमा गर्ने । पार्टी सञ्चालन गर्दा वैधानिक ब्यवस्था र कमिटि प्रणालीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने ।  
यो ५ बुँदे कार्यविभाजनको प्रष्ट खाकाका आधारमा मात्र अध्यक्ष प्रचण्डले अब पार्टीमा के के अधिकार पाउँछन ? भन्ने प्रष्ट पारेको छ । यद्यपी, केही विषयमा भने अझै पनि दुई अध्यक्षले बैठकको संञ्चालन गर्ने तर ‘आम रूपमा पार्टी अध्यक्षता र सञ्चालन प्रचण्डले गर्ने’ भनेको के हो ? यो विषयको ब्याख्या कतिपयले आ–आफ्नै ढंगले समेत गर्न थालेका छन् ।

तर यसको अर्थ अब प्रचण्डले पार्टी स्थायी समिति बैठक र केन्द्रीय कमिटीको अध्यक्षता देखि तल्लो तहसम्मका संगठनको जिम्मेवारी लिनेछन् । नयाँ जिम्मेवारी अनुसार प्रचण्डले पार्टी एकीकरणका बाँकी काम, विभाग र जनवर्गीय संगठनहरूको पूर्णता,  प्रदेश २ कमिटीमा देखिएको विवाद देखि अन्य पार्टीका भैपरी आउने सम्मका सवै काममा लिड गर्नेछन् ।

प्रचण्डले प्रधानमन्त्री ओलीको अनुपस्थितिमा पनि पार्टीका बैठकहरू बोलाउने, निर्णय गर्ने र ती निर्णयहरू पार्टीका तल्लो कमिटी सम्म सर्कुलर गर्न पनि सक्नेछन्  । बुधबारको समझदारीपछि प्रचण्ड पार्टीमा अब कार्यकारी देखिएका छन् । उनले छिट्टै केन्द्रीय कमिटी बैठक डाक्ने अनौपचारिक सहमति पनि नेकपा सचिवालय बैठकमा भईसकेको छ । त्यही अनुसार उनले पार्टी स्थायी समिति र केन्द्रीय समितिको बैठक डाक्ने छन् ।
जेठ २ को ५ बुँदे निर्णय प्रतिस्थापन 
पार्टी एकताको अघिल्लो दिन अर्थात २ जेठ २०७५ मा ओली र प्रचण्डका बिचमा ५ बुँदे लिखित सहमती भएको थियो । महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य जर्नादन शर्मालाई साक्षी राखेर भएको उक्त सहमति अब बुधबारको सचिवालयको निर्णयले प्रतिस्थापन गरेको छ ।

तत्कालीन एमालेका अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच भएको पाँच बुँदे सहमतिको चौथो बुँदामा ‘समानता र समान अवधिका आधारमा आवश्यकता अनुरूप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ सहमति भएको थियो । अब उक्त सहमतिल प्रतिस्थापन भएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई अध्यक्ष बीचको कार्य विभाजनमा सरकारको नेतृत्व प्रधानमन्त्री ओलीले गर्ने र राजनीतिक स्थायित्वको सन्देश दिने निर्णय भएकाले आलोपालोका विषयमा थप बोलिरहन आवश्यक नरहेको प्रस्ट्याए ।

‘दुई अध्यक्षको कार्य विभाजनका सन्दर्भमा सचिवालयले गरेको निर्णय प्रस्ट छ । पार्टी निर्णय सार्वजनिक गरिसकेपछि आलोपालोका विषयमा बोलिरहनु पर्ला र ? ’ प्रवक्ता श्रेष्ठले भने । नेकपाको अन्तरिम विधानमा अध्यक्षहरूको कार्य विभाजनबारे स्पष्ट लेखिएको छ, ‘दुवै अध्यक्षले राष्ट्रिय परिषद्, केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र केन्द्रीय सचिवालयको बैठकको संयुक्त रूपमा वा आपसी सल्लाहमा दुईमध्ये एकले वा बैठकमा एकजना मात्र उपस्थित भएमा निजले अध्यक्षता गर्ने र पार्टीका आधिकारिक निर्देशन र पत्राचारमा दुवै अध्यक्षले वा आपसी सल्लाहमा एक अध्यक्षले हस्ताक्षर गर्ने ।’  विधान र बुधबारको निर्णय अनुसार अब प्रचण्डले ‘एक अध्यक्ष’ को त्यो अधिकार उपयोग गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस