लागू औषध सहित २ जना पक्राउ

बुधबार, २४ माघ २०७४, १२ : ३९
लागू औषध सहित २ जना पक्राउ

भरतपुर / जिल्ला प्रहरी कार्यालय चितवनले सञ्चालन गरेको लागूऔषध तथा गुण्डागर्दी नियन्त्रण अभियानअन्तर्गत विभिन्न व्यक्तिलाई पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरी गस्ती टोलीले मंगलबार अपराह्न करिब ४ बजे भरतपुर–१, पोखरा बसपार्कबाट दुई जनालाई प्रतिबन्धित लागूऔषधसहित पक्राउ गरेको छ । कास्कीको पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ८ बस्ने ३० वर्षीय सूर्य गुरुङ र गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ६ बस्ने २४ वर्षीय मनोज भट्ट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनीहरुको साथबाट डाईजेपाम २९ एम्पुल, ब्रुफिनर्फिन २९ एम्पुल र फेनारगन २९ एम्पुल बरामद गरिएका छन् ।
उनीहरुलाई प्रहरी हिरासतमा राख्नको लागि चितवन जिल्ला अदालतबाट म्याद थप अनुमति लिई लागूऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्दा दर्ता गरी कारबाही अघि बढाइएको र थप अनुसन्धान कार्य भइहेको प्रहरीले जनाएको छ ।
त्यस्तै मंगलबार राति करिब ९ बजेतिर नारायणगढ पुलचोकबाट भरतपुर–१६ बस्ने १७ वर्षीय मञ्जिल कुमाललाई प्रतिबन्धित लागूऔषध नाईट्राजेपाम  ७२० ट्याबलेटसहित पक्राउ गरेको छ । उनलाई प्रहरी हिरासतमा राख्नको लागि चितवन जिल्ला अदालतबाट म्याद थप अनुमति लिई लागूऔषध (नियन्त्रण) ऐन २०३३ अन्तर्गत मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइएको छ ।
त्यस्तै भरतपुर–३, लायन्सचोकस्थित सब्जीमण्डीमा गुण्डागर्दी गर्ने गरेको भन्ने तरकारी व्यवसायीहरुको जनगुनासोका आधारमा भरतपुर–१ बस्ने ३२ वर्षीय वीरु महर्जनलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयले पठाएको सूचनाअनुसचर उनलाई केही सार्वजनिक अपराध र सजाय ऐनअन्तर्गत म्याद थप गरी कारबाही अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस