सत्तामा जान नपाउने डरले नेपाली काँग्रेस छट्पटाएको छ : पाण्डे

विहीबार, ३० कार्तिक २०७४, १५ : १७
सत्तामा जान नपाउने डरले नेपाली काँग्रेस छट्पटाएको छ : पाण्डे

चितवन । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा चितवनको निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार सुरेन्द्र पाण्डेले अब सरकारमा जान नसकिने भयो भनेर नेपाली काँग्रेस छट्पटाएको बताएका छन् ।  
चितवन क्षेत्र नं. १ अन्तर्गत रत्ननगर नगरपालिका वडा नम्बर दसमा बिहीबार आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै पाण्डेले वर्षौंदेखि सत्तामा बसिराखेको काँग्रेस अब कम्युनिष्टको स्थायी सरकार हुने भयो भनेर छट्पटाइराखेको बताए । सत्ता गुम्ने र जनताले पाखा लगाउने भयो भनेर अत्तालिएर काँग्रेसले एमाले र माओवादी केन्द्रमाथि नानाथरीका आरोप लगाएको उनले बताए ।
‘शिकार नपाए बिरालोले खाँबो चिथोर्न थाल्दछ । सरकार जाने भयो भनेर काँग्रेसका नेताहरु जथाभावी बोल्दै हामीलाई गाली गरेर हिँडेका छन्’ उनले भने ‘सधैं सत्तामा बस्ने तर सिन्को नभाँच्ने काँग्रेसलाई यसपालि जनताले एकपटक तिमीहरु प्रतिपक्षमा बस भनेका छन् ।’ 
२०४८ सालदेखि ५१ सम्म बहुमतको सरकार हँुदा पनि केही काम गर्न नसकेर कमजोर भइसकेको र सरकारमा जाने तर काम नगर्ने बानी  काँग्रेसमा परेकाले जनताले यसपटक प्रतिपक्षमा राख्न तयार भएको उनले बताए । ‘कम्युनिष्टको सरकारले जनपक्षीय काम गरेर काँग्रेसलाई जवाफ दिएको छ’ उनले भने, ‘उदाहरणको रुपमा मनमोहन अधिकारीको नेतृत्वको सरकारलाई हेर्दा हुन्छ ।’ 
उनले विरोधीहरुले फैलाएको जस्तो कुनैपनि तानाशाही अब नेपालमा आउन नसक्ने बताए । तीन पुस्ताको बलिदानीमा आएको लोकतन्त्रको घाँटी निमोठेर अब कुनै प्रकारको तानाशाही आउने सम्भावना नरहेको उनले प्रष्ट पारे । 
मंसिरमा हुने निर्वाचन पार्टी एकताको लागि कोशेढुंगा सावित हुने उनको भनाइ छ । ‘हामी पार्टी एकताको तयारीमा थियौं, तर निर्वाचन आइसकेकोले केही विषयमा छलफल गर्नु पर्ने हुँदा निर्वाचन अगाडि एकता सम्भव भएन’ उनले भने, ‘निर्वाचनपछि यही २०७४ सालभित्रै हामीले पार्टी एकता गरेर नयाँ सन्देश दिनेछौँ ।’ 
‘कम्युनिष्टको नेतृत्वमा हुने सरकारले आर्थिक समृद्धिलाई प्राथमिकता दिएर हाम्रै पालामा देशलाई सम्पन्न गराउने दिशातर्फ लैजानेछौँ । काम नपाएर रोजगारीको लागि विदेश जानु पर्ने बाध्यता हटाएर नेपालमा नै रोजगारीको प्रशस्त अवसर प्रदान गर्नेछौँ’ उनले भने, ‘यो काम गर्न कठिन छ, तर हामी गरेर देखाउने छौँ । विकास गर्ने मोडलको कार्यक्रम हामीसँग छ ।’ 
कोणसभामा बोल्दै प्रदेश शसभा क्षेत्र नं. १ ख का उम्मेदवार कृष्णप्रसाद खनालले शिक्षा, स्वास्थ्य, रोजगार, उपचारका क्षेत्रमा आफूहरुले काम गरेर देखाउने बताए । पूर्वी चितवनलाई बाढीबाट सुरक्षित क्षेत्रका रुपमा विकास गर्ने, मुग्लिन नारायणगढ सडकको विकल्पका रुपमा भण्डारा मलेखु सडकलाई निर्माण पूरा गर्ने उनले बताए । शक्तिखोर हुग्दी सडक मार्ग, सौराहामा अन्तर्राष्ट्रिय स्तरको सभाहल निर्माण गरेर ठुला कार्यक्रम गर्न चितवन जानु पर्छ भन्ने सन्देश दिइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस