अबको एसईई परीक्षा प्रदेशस्तर बाट सञ्चालन हुने

विहीबार, ३० कार्तिक २०७४, १४ : ५८
अबको एसईई परीक्षा प्रदेशस्तर बाट सञ्चालन हुने


काठमाडौँ । मुलुक संघीय संरचनामा प्रवेश गरेसँगै राष्ट्रिय परीक्षा बोर्डले पनि प्रदेशस्तरमा परिक्षा सञ्चालन गर्ने तयारी गरेको छ । अगामी वर्ष हुने कक्षा १० को एसईई परीक्षा समेत प्रादेशिक स्तरमै सञ्चालन हुनेभएको हो ।प्रादेशिक संरचनामा लैजान बोर्डले आवश्यक पूर्वाधार र जनशक्ति तयारी गरिरहेको जनाएको छ ।

परीक्षा संचालन, नतिजा प्रकाशन लगायतका सम्पूर्ण जिम्मेवारी प्रादेशिक संरचना बनाएर सोही निकायलाई सुम्पिने तयारी गरेको हो ।२०७५ चैतमा हुने एसईईको जिम्मेवारी प्रदेशलाई दिने तयारी भइरहेको बोर्डले जनाएको छ  ।

बोर्डका क्षेत्रीय कार्यालयहरूलाई नै प्रादेशिक कार्यालयका रूपमा स्थापना गरी सोही कार्यालयबाट परीक्षा सञ्चालन तथा व्यवस्थापन गर्ने तयारी सुरु गरिएको बताइएको छ ।प्रदेश १ मा विराटनगर, २ मा जनकपुर, ३ मा काठमाडौं, ४ मा पोखरा, ५ मा कोहलपुर, ६ मा सुर्खेत र ७ मा धनगढीमा बोर्डको प्रादेशिक कार्यालय खोल्ने तयारी भइरहेको राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ । प्रदेश ६ मा भने बोर्डको कार्यालय नभएकोले त्यहाँ नयाँ कार्यालय स्थापना हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस