निर्माण सामग्रीमा ठगी गर्ने ३ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

पत्रपत्रिकाबाट

विहीबार, २८ कार्तिक २०७६, ०७ : ४१
निर्माण सामग्रीमा ठगी गर्ने ३ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

काठमाडौँ । निर्माण सामग्री गिट्टी, ढुङ्गा, बालुवा र इँटा डिपो सञ्चालनका नाममा अवैध तथा अकुत सम्पत्ति कमाएको अभियोगमा ३ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान शुरु गरिएको छ ।
घर तथा भवन निर्माण सामग्रीहरू मापदण्डभन्दा कम तौलको पठाई सर्वसाधारणलाई ठगी गरेको अभियोगमा महानगरीय प्रहरी अपराध महाशाखाले यही कात्तिक १ गते काठमाडौँका विभिन्न स्थानबाट २३ वटा सवारी, १३ सञ्चालक र २३ जना सवारी चालकलाई पक्राउ गरेको थियोे ।
एउटा मिनी ट्रकमा सय क्युफिट मापदण्ड अनुसारको निर्माण सामग्री पठाउनु पर्नेमा डिपो सञ्चालकहरूले ८२ क्युफिट मात्र पठाउने गरेको उजुरीका आधारमा ठगी मुद्दाका अतिरिक्त सम्पत्ति शुद्धीकरणमा अनुसन्धान शुरु गरिएको हो ।
अपराध महाशाखाका अनुसार, डिपो सञ्चालकहरू पञ्चेश्वर स्वयम्भुका प्रमुख महेश्वर श्रेष्ठ, रन्जित एन्ड रन्जितका रन्जित थापा, धनेश्वर महादेवका सन्तोष कँुवर, खाँडादेवीका प्रकाश भण्डारी र कामनाका बद्री गिरीको सम्पत्ति छानबिनका लागि अनुसन्धान शुरु गरिएको हो ।
त्यस्तै, शुभकामनाका सञ्चालक सुरेन्द्र केसी, महालक्ष्मीका लक्ष्मण श्रेष्ठ, बज्रका वीरेन्द्र कुइँकेल, गरिमाजका श्याम मगर, जेबीएसका सन्देश लामा र माधव पण्डित विरुद्ध थप कानुनी प्रक्रिया अगाडि बढाइएको महाशाखा प्रमुख सहकुल थापाले बताए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस