गच्छदार समूहका नेताले काँग्रेस केन्द्रीय समितिमा प्रवेश पाएनन्, यस्तो छ कारण

सफल खबर संवाददाता

सोमबार, २५ कार्तिक २०७६, १४ : ४६
गच्छदार समूहका नेताले काँग्रेस केन्द्रीय समितिमा प्रवेश पाएनन्, यस्तो छ कारण

काठमाडौं । स्थानिय तह निर्वाचन अघि विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक काँग्रेसमा समाहित भएसंगै सहमती अनूरुप गच्छदार बाहेक अन्य नेताहरुले काँग्रेसमा प्रवेश पाएका छैनन् ।
पार्टी एकीकरण भएको करिब ६ महिनापछि गच्छदार पार्टी संसदीय दलको उपनेतामा र एक वर्षपछि पार्टीको उपसभापतिमा मनोनित भएका थिए । गत वर्ष कात्तिक अन्तिम साता काँग्रेस केन्द्रीय समिति बैठकले राजनीतिक सहमति भन्दै विधान विपरीत गच्छदारलाई उपसभापतिमा मनोनित गरेको थियो । त्यसको एक वर्षपछि गत असोज १० गतेको केन्द्रीय समिति बैठकले गच्छदार समूहबाट एक उपसभापति र ११ केन्द्रीय सदस्यलाई केन्द्रीय कार्यसमितिमा ल्याउने निर्णय गरेको थियो । तर, गच्छदारले आफ्नो समूहका ११ जनालाई केन्द्रीय समितिमा सिफारिस गर्न सकिरहेका छैनन् ।
यस विषयमा पार्टी उपसभापति एवं तत्कालीन लोकतान्त्रिक फोरमका नेता तथा कार्यकर्ताको समायोजनका लागि गठित कार्यदलका संयोजक विमलेन्द्र निधिले गच्छदारको प्रस्ताव कुरिरहेको स्रोतको भनाइ छ । स्रोतका अनुसार, काँग्रेसका तर्फबाट कुनै समस्या भएर ढिलो भएको होइन । विजय गच्छदारले ११ जनाको नाम सिफारिस गरेमा केन्द्रीय समितिले अनुमोदन गर्नेछ । काँग्रेस केन्द्रीय कार्यसमितिको १० असोजको बैठकले पार्टी लोकतान्त्रिक फोरमबाट आएका ११ जनालाई केन्द्रीय सदस्य बनाउने निर्णय गरिसकेको स्रोतको भनाइ छ ।
तत्कालीन लोकतान्त्रिक फोरमका उपाध्यक्ष रामजनम चौधरीले केही दिनभित्र केन्द्रीय सदस्यको नाम पठाउने तयारीमा रहेको बताए । उनले भने, ‘‘विजय दाइले दुई–तीन दिनभित्र केन्द्रीय सदस्यको नाम पेश गर्छु भन्नु भएको छ । ढिलो किन भइरहेको छ भन्ने प्रश्नमा चौधरीले भने, ‘पार्टी एकताको बेला २५  जना केन्द्रीय सदस्य दिने कुरा थियो । त्यसपछि २० जना दिने भन्ने कुरा आयो । त्यसपछि १५ जना दिने कुरा पनि भयो । तर अहिले ११ जना मात्र दिने कुरा भएपछि ढिलो भयो ।’
स्रोतका अनुसार उपसभापति गच्छदारलाई यशोदा लामा र गणेश लामालगायतका आधा दर्जन नेताले केन्द्रीय सदस्य बनाउनुपर्ने दबाब दिएपछि गच्छदार सकसमा छन् । गतवर्ष राजधानीमा भएको काँग्रेसको महासमिति बैठकमा गच्छदारबाट आएका २ सय जनालाई महासमिति सदस्य र १ सय ४८ जनालाई पर्यवेक्षक बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस