अमेरिकाबारे बोले विप्लव : अमेरिकी आरोप झुटो र पूर्वाग्रही, प्रतिरोधको चेतावनी

सफल खबर संवाददाता

सोमबार, २५ कार्तिक २०७६, १० : १७
अमेरिकाबारे बोले विप्लव : अमेरिकी आरोप झुटो र पूर्वाग्रही, प्रतिरोधको चेतावनी

काठमाडौं । प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले अमेरिका विरुद्ध आफ्नो धारणा सार्वजनिक गरेका छन् । अमेरिकाको ‘प्रतिआतंकवाद ब्युरो’ले २०१९ अक्टोबरमा प्रकाशित गरेको ‘आतंकवादबारे देशका रिपोर्टहरू २०१८’ (कन्ट्री रिपोर्ट अन टेरोरिज्म २०१८) मा विप्लवको पार्टीलाई समेत उल्लेख गरेर वक्तव्य दिएपछि विप्लवले पनि
प्रति वक्तब्य दिएका हुन् ।

अमेरिकाले लगाएको आतंककारीको आरोप र लान्छनाको प्रतिरोध गर्ने पनि विप्लवले जनाएका छन् । ‘अमेरिकाले हाम्रो पार्टीबारे दिएको रिपोर्टप्रति प्रेस वक्तव्य’ शीर्षकमा विप्लवले जारी गरेको वक्तब्यमा भनिएको छ, ‘अमेरिकाको ‘प्रतिआतंकवाद ब्युरो’ ले २०१९ अक्टोबरमा प्रकाशित गरेको ‘आतङ्कवादबारे देशका रिपोर्टहरू २०१८’ (कन्ट्री रिपोर्ट अन टेरोरिज्म २०१८) मा उल्लेख गरेको हाम्रो देश र पार्टीबारेको धारणा र विवरणप्रति पार्टीको ध्यान गम्भीर ढङ्गले केन्द्रित भएको छ ।

सर्वप्रथमतः अमेरिकी साम्राज्यवादले हाम्रो देश, नेपाली जनता र पार्टीको राजनीतिक स्वतन्त्रता एवम् अधिकारमाथि निर्लज्जतापूर्वक गरेको हस्तक्षेपको घोर भत्र्सना गर्दै उक्त रिपोर्ट झूट, भ्रामक तथा षड्यन्त्रपूर्ण भएको स्पष्ट गर्दछ ।’ अमेरिका आफैँ उपनिवेशको दमनबाट फुत्किन बन्दुक उठाएर लडेको देश भएको भन्दै विप्लवले आफ्ना अग्रजहरूको विद्रोहलाई बिर्सेर बिसौँ शताब्दीदेखि कमजोर देशहरूलाई पैताला मुनि दबाउने घोर फासिष्ट एवम् साम्राज्यवादी नीति अमेरिकाले लिँदै आएको बताएका छन् ।

विश्वभरि चलिरहेका अशान्ति, युद्ध, विध्वंस, आतङ्क, नरसंहारको संरक्षक, सञ्चालक र स्रोत अमेरिका नै रहेको आरोप पनि विप्लवले लगाएका छन् । अमेरिकाले वास्तविक शान्ति, मानवता, स्वतन्त्रता, स्वाधीनता एवम् परिवर्तनका बाहक शक्ति श्रमिक जनता, कम्युनिस्ट पार्टी र जनक्रान्तिलाई आतंकवादीको असैह्य आरोप थोपर्ने गरेको विप्लवले वक्तब्यमार्फत भनेका छन् ।

‘हाम्रो जनप्रिय नेपाल कम्युनिस्ट पार्टीमाथि लक्षित गरेको पूर्णतः अस्वीकार्य एवम् अर्थहीन आरोप पनि यसैको एक भाग हो । लुट र अतिक्रमणको नेतृत्व गर्ने अमेरिकालाई यस्तो आरोप थोपर्ने न अधिकार छ, न त नैतिकता नै । वैज्ञानिक समाजवादी—साम्यवादी क्रान्तिको नेतृत्व गर्ने कम्युनिस्ट पार्टी र श्रमिक वर्गका लागि यो औचित्यहीन छ’ विप्लवले भनेका छन् ।

अमेरिकालाई चेतावनीयुक्त सन्देश दिँदै विप्लवले आफनो पार्टीले आतंकवाद र पराधीनतालाई कहिल्यै नस्वीकार्ने भन्दै अमेरिकाले जारी गरेको वक्तब्यमा उल्लेखित तर्क नै गलत रहेको बताएका छन् । उनले भनेका छन्, ‘अमेरिकाले रिपोर्टमा हाम्रो पार्टीले कहिल्यै नगरेको वीरगन्जको भारतीय कन्सुलेट कार्यालयको पर्खालमा बम हानेर भत्काइदिएको, पोखराको एयरपोर्टमा बम हानेको, गाउँका सडकका पुलमा बम हानेर क्षति गरेको भनेर जुन रिपोर्ट उल्लेख गरेको छ साथै हाम्रो देशलाई अन्तर्राष्ट्रिय आतंकवादीहरूको आश्रयस्थल र आवतजावत गर्ने थलो भनेर चर्चा गरको छ, यो सत् प्रतिशत झूट, भ्रामक र षड्यन्त्रपूर्ण रहेको छ ।

यसले शक्तिशाली भनेर प्रचार गरिने अमेरिकी रिपोर्टको कमजोर क्षमता मात्र उजागर गर्दैन, उसको पूर्वाग्रही, दुराशययुक्त र उत्तरसाम्राज्यवादी चरित्रको पनि पुष्टि गर्दछ । यसर्थमा अमेरिकाको रिपोर्ट गम्भीर राजनीतिक अपराध हो । हामी यसप्रति घोर आक्रोश र घृणा व्यक्त गर्न चाहन्छौँ । अमेरिकाले यस्तो आपराधिक कार्य नगरोस् भन्ने चेतावनी पनि दिन चाहन्छौँ । अतः यो रिपोर्टलाई हाम्रो पार्टी पूर्णतः खारेज गर्दछ ।’

हेर्नुहोस वक्तब्य :

प्रतिक्रिया दिनुहोस