चितवन । पर्यापर्यटनको लागि ख्याति कमाएको चितवन राष्ट्रिय निकुञ्जमा यतिबेला अर्काे एउटा सुन्दरता पनि थपिने गर्दछ । त्यो हो विदेशी आगन्तुक चरा । जाडो छल्न र आहाराको खोजीमा ६ हजार किलोमिटर परदेखि झण्डै ४५ दिन लगाएर विभिन्न प्रजातिका चरा यहाँ आउने गर्दछन् ।
चराविद् डा हेमसागर बरालका अनुसार अगस्तदेखि डिसेम्बरसम्म आउने ती चरा झण्डै ६ महिना नेपाल बस्छन् । नेपालको उत्तरी सीमा हुँदै धेरै प्रजातिका चराहरु यहाँ आउने गर्दछन् । ती चरा कतिपय हिमालमाथिबाट र कतिपय खोच हुँदै नेपाल प्रवेश गर्ने गर्दछन् । सबैभन्दा बढी चीन र त्यसपछि मङ्गोलिया, रसिया, कोरिया, मध्यएशियाका विभिन्न देशबाट चरा आउँछन् ।
उहाँका अनुसार १५० भन्दा बढी प्रजातिका चरा नेपालमा आउने गर्दछन् । तीमध्ये झण्डै १२० प्रजातिका चितवनमा मात्रै आउँछन् । यसरी आउने चरामा जलपक्षीसँगै घाँसे मैदान, वनआश्रित, हिमालयमा बस्ने र मध्यपहाडमासमेत बस्ने चरा यहाँ आउने उहाँको भनाइ थियो ।
विगतका वर्षमा चिलको एक प्रजातिले नेपालमा बच्चा कोरलेको भए पनि पछिल्ला वर्षमा हिँउदे आगन्तुक प्रजातिका कुनै पनि चराले यहाँ बच्चा कोरलेको पाइदैन । ती चरा जाडो सकिएसँगै क्रमशः बच्चा कोरल्नका लागि फर्किने गर्दछन् । चरा विज्ञ बराल भन्नुहुन्छ, “चितवन चराका लागि स्वर्ग हो ।”
जलपक्षीका लागि यहाँका नदी, सिमसार क्षेत्र छन् भने विश्वको उत्कृष्ट घाँसे मैदान, सिराइचुलीदेखि सोमेश्वरसम्मका चुरे पहाड, मध्यवर्तीका विशाल घना जङ्गल चराका लागि उत्कृष्ट वासस्थान भएको बरालको भनाइ थियो । बर्ड एजुकेशन सोसाइटी चितवनका पूर्व अध्यक्ष वासु बिडारी चितवनमा ६४० प्रजातिका चरा रहेको बताउनुहुन्छ । देशभरमा ८८८ प्रजातिका चरा रहेका छन् ।
चरा हेर्न रुचाउने पर्यटक यतिबेला चितवन राष्ट्रिय निकुञ्ज आउने गरेको बिडारीको भनाइ छ । उहाँका अनुसार राप्ती, नारायणी, रिउ नदीसँगै नानी, गरुढ ताल हाँस प्रजातिका चराले भरिने गरेका छन् ।
केही दिनमा यहाँ सुन्दर चराहरुले मनमोहक आकर्षण दिने गर्दछन् । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार अहिले निकुञ्जका विभिन्न ठाउँमा पाहुना चरा देखिने गरेको छ । नदीमा हाँसका प्रजातिले सुन्दरता बढाएको उहाँले बताउनुभयो । चरा हेर्न रुचि राख्ने र अनुसन्धान गर्न चाहनेहरु यतिबेला निकुञ्जमा आउने गर्दछन् ।(रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
जंगली हात्तीको आक्रमणबाट निकुञ्ज सुरक्षामा खटिएका सैनिक घाइते
चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रमा ३३ वर्षमा ६८ छावा जन्मिए
निकुञ्जसम्बन्धी कसुरमा ४४२ जना पक्राउ
चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द
चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु
निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा कमी