नियम सृष्टिको...

शनिबार, १६ कार्तिक २०७६, १४ : २१
नियम सृष्टिको...

- बसन्त चौधरी

हिमालमा थपिएर खातखात हिउँले
अग्लिएको हिमालको उचाइमा
ठोक्किएर मुस्काएका
स्वर्णिम घामका किरणहरू
चम्किचम्की इन्द्रधनुषी विम्वमा
धर्तितिर पोखिएर हाँस्दा
लाग्छ मलाई
शिशिर जानेबेला भएछ !

फाँट र मैदानभरी
नाचेको
तुवाँलो, हुस्सु अनि कुहिरो भित्र
चिसो हावामा कामिरहेका
प्राकृतिक अस्तित्व,
जूनको चम्किलो आभामा
सरसराइरहेको मौसम
शितका आँसुले भरिएका आँखा
पुछेर धर्तिले
वाफिलो निश्वास फ्याँक्दै
केही पर्खिरहेको देख्दा
लाग्छ मलाई
सुर्यले मायालु गर्मी बोकी
भेट्न आउने वेला भएछ !

नांगिएका रुख
बुट्यानका उजाड रुप
उराठिलो दृष्यको फाँटफाँट हुदै
मुना, मजुरा र नवपल्लवित टुसाहरु
गर्भमा बोकेर
अल्झि अल्झि पतकरमा
छोपिएको सुन्दर मधुमास सामु
प्रकृतिको मौन रोदन देख्दा
लाग्छ मलाई
वसन्त आउने बाटो खनिदैछ !

ऋतुका आरोह अवरोहको प्रवाहमा
बैशाख र पुसको भोगाइमा
जाने आउने मौसमको नियममा
बाँधिएर बग्दाबग्दा
लाग्छ मलाई
परिवर्तन त सृष्टिको नियम पो रहेछ
शिशिर पछि आउने वसन्त जस्तै !!

प्रतिक्रिया दिनुहोस