प्रधानमन्त्री ओलीलाई नेकपा नेताहरुले किन भेट्न पाएनन् ?

सफल खबर संवाददाता

विहीबार, १४ कार्तिक २०७६, १५ : ११
प्रधानमन्त्री ओलीलाई नेकपा नेताहरुले किन भेट्न पाएनन् ?

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीलाई भेट्न भनी ग्राण्डी अस्पताल पुगेका नेकपा नेताहरुले प्रधानमन्त्रीलाई भेट्न पाएनन् । प्रधानमन्त्री ओलीको दोस्रो डायलासिस चलिरहेका कारणले उनीहरुलाई अस्पतालले भेट्न दिएन । 

प्रधानमन्त्रीलाई आइसियूमा राखेर डायलासिस गरिएको अस्पताल स्रोतले बतायो।

प्रधानमन्त्रीको डायलासिस जारी रहेकाले आफूले नभेटी फर्किएको नेकपा नेता भीम रावलले बताए। उनी बिहीबार दिउँसो सवा १ बजे अस्पताल पुगेका थिए। अस्पतालले भेट्न नमिल्ने भनेपछि रावल पछि भेट्न आउँला भनी फर्केका थिए । 
‘प्रधानमन्त्रीलाई डायलासिस गरेकाले मैले भेट्न मिलेन। केही समयपछि आउँछु भनेर अस्पतालबाट फर्किएँ’ रावलले भने, ‘सबै चिकित्सकहरू व्यस्त रहेकाले मैले उहाँहरूसँग पनि बुझ्न पाइनँ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि प्रधानमन्त्री भेट्न ग्रान्डी पुगेका थिए। तर डायलासिस भइरहेकाले उनले पनि प्रधानमन्त्रीसँग भेट्न पाएनन्।

‘म अस्पताल पुगेको थिएँ। तर प्रधानमन्त्रीसँग भेट हुन पाएन। अस्पतालका निर्देशक चक्रराज पाण्डेजीसँग कुरा भयो। उहाँले प्रधानमन्त्रीको स्वास्थ्य राम्रो छ भन्नुभयो,’ श्रेष्ठले बताए । 

प्रधानमन्त्रीको डायलासिस चलिरहेकाले आज पनि प्रधानमन्त्री ग्राण्डीमै रहने सम्भावना बढेको अस्पतालले जनाएको छ ।
प्रधानमन्त्री ओलीको बुधबार पहिलो र आज दोस्रो डायलासिस गरिएको हा् । उनको स्वास्थ्य अवस्थाबारे अस्पतालले गोप्य नै राखेको छ । 

स्रोतका अनुसार उनको रगतमा क्रेटिनिन, युरिया र पोटासियमको मात्रा अत्यधिक बढेपछि डायलासिस गरिएको हो। पिसाब राम्ररी नभएर शरीरमा पानीको मात्रा धेरै भएको पनि स्रोतले बतायो।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौलाले काम गर्न छाडेपछि नयाँ मिर्गौला प्रत्यारोपण गरिएको थियो। त्यो मिर्गौला पनि अहिले कमजोर भएर समस्या हुने गरेको छ।
 

प्रतिक्रिया दिनुहोस