वाम गठबन्धनको देशव्यापी चुनावी सभा

विहीबार, ३० कार्तिक २०७४, ०७ : २४
वाम गठबन्धनको देशव्यापी चुनावी सभा

गोरखाको पालुङटार सभामा एमाले र माओवादी केन्द्रका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल । तस्विर कान्तिपुरबाट

एमाले–माओवादी केन्द्रको वामपन्थी गठबन्धनले ‘बहुमतसहितको स्थिर सरकार निर्माण’ लागि मत दिन आग्रह गर्दै बुधबारदेखि देशव्यापी चुनावी आमसभा सुरु गरेको छ । दुवै दलका अध्यक्षहरू केपी ओली र पुष्पकमल दाहालले ती सभाहरूलाई सम्बोधन गर्दै हिँड्न थालेका छन् ।

त्यसै सिलसिलामा बुधबार पहिलो दिन गोरखामा चारवटा र लमजुङ एउटा सभा भयो । ती सभाहरूमा ओली र दाहालले प्रतिस्पर्धी कांग्रेस र नयाँ शक्तिको गठबन्धनको भविष्य नरहेको टिप्पणी गरे ।

आउँदो चुनावपछि कांग्रेसको हैसियत केही नहुने भन्दै ओली र दाहालले वाम गठबन्धनको भावी सरकारले विकास र समृद्धिको लहर ल्याउने बताए ।

वामपन्थी गठबन्धनका नेता नारायणकाजी श्रेष्ठको क्षेत्रलाई विशेष लक्षित गर्दै ओली र दाहाल बुधबारको चुनावी सभामा उपस्थित भएका हुन् । श्रेष्ठको निर्वाचन क्षेत्र गोरखा २ का भच्चेक तथा पालुङटारमा ओली र दाहाल दुवैले सम्बोधन गरे ।

यो खबर कान्तिपुरमा छ,गोरखा १ आरुघाटमा पनि दुवै नेताले सम्बोधन गरे । गोरखा १ कै घैरुङमा दाहालले र लमजुङको सभामा ओलीले छुट्टाछुट्टै सम्बोधन गरेका थिए ।

‘कांग्रेस आत्तिएको छ, कम्युनिस्ट शासन आउने भो, उधुम हुने भयो भनेर कराएको छ,’ एमाले अध्यक्ष ओलीले पालुङटारको सभामा भने, ‘हो कांग्रेसले ठीक बुझेको छ, अब कम्युनिस्ट सरकार र सत्ता आयो आयो । यसपालिको चुनावले कांग्रेसलाई उडाउने छ, बूढो रूख ढल्छ ।’

प्रतिक्रिया दिनुहोस