Safal Khabar - लघुकथा : राज
बुधबार, ०६ कार्तिक २०७६ (Wednesday, 23 October, 2019)
लघुकथा : राज
बुधबार, २२ असोज २०७६, १३ : ५७
लघुकथा : राज

- निशा केसी
“छाता भए एकछिनलाई दिनु न बहिनी अर्जेन्ट पर्यो ।” भिजेको लुगा टक्टक्याउँदै उनले भनिन् । “छैन त दिदी । भएपनि यत्रो पानी छाताले के थाम्थ्यो ?” दर्किएको पानी देखाउँदै पन्छिन खोजेँ । सोचेँ बाटो हिँड्ने जतिलाई छाता बाँडेर के साध्य ? बाटोमा खोलो बग्न थालिसकेको थियो । 
त्यैबेला उनको मोबाइल बज्यो । “खुरुक्क पुलिस लिएर जाउँ न दाइ किन तिरिहने चार हजार ?” उनले भनिन् । 
उताको मान्छेले पुलिसलाई खबर गर्नु भन्दरा चार हजार तिर्नै ठिक भनेको जस्तो लाग्यो । उनी अलि आपदमै परेको बुझेपछि खाली मुडातर्फ इशारा गर्दै भनेँ, “बस्नु न ।” 
“धन्यवाद” उनले कृतज्ञता जाहेर गरिन् र कसैलाई कल गरिन् । कल नगएपछि खुइय सुस्केरा हाल्दै भनिन्, “फेरि स्विचअफ् गरेर मोरेछ मोराले ।” “के भएछ दिदी ?” खसखस थाम्नै नसकेर सोधेँ । 
“एउटा दाईको आईफोन हराएछ । भेट्टाउनेले मलाई फोन गरेर हैरान पारिसक्यो चार हजार लिएर मोवाइल लिन आउनु भनेर । पुलिसमा खबर गरौँ भनेको दाइ मान्नु नै हुन्न ।” 
“ओहो यो त पुलिसलाई नै खबर गर्नुपर्ने रहेछ त । बेकारमा किन तिर्ने त्यत्रो रकम ?” मैले थपेँ ।
“हराउनेलाई मतलब छैन मलाई के को टाउको दुखाई ?” 
उनको मोबाइल फेरि बज्यो । मोबाइल भेट्टाउनेले चाबेलको हेल्पिङ ह्यान्डस अगाडि कुरिरहेको छु भनेपछि उनी पानीको परवाह नगरी हिंड्न लागिन् । जाँदाजाँदै एउटा झोला दिदैं भनिन्, “यो राख्दिनु है फर्किंदा लिएर जान्छु ।” 
उनी गएपछि मनमा कुरा खेल्यो । छ महिना अगाडि राजले ल्याई दिएको मेरो आइफोन पनि त पसलबाटै हराएको थियो । भेटेको होइन । के भेटिन्थ्यो हराएको मोवाइल रु पानी पर्न रोक्कियो । बाटोमा मान्छेहरु हिंड्न थाले ।
“बहिनी झोला दिनु त उनले बाटैबाट झोला मागिन् ।” “मोवाइल दियो त दिदी ?” झोला दिंदै सोधेँ । 
“दियो नि । टयापे मोराहरु रैछन । सिक्री लुछ्ला भन्ने कत्रो डर ।” “खै हेरुँ त ।” उनले मोबाइल देखाइन् । ”ठ्याक्क मेरै मोबाइल जस्तो ।” 
पछाडि हेरेँ । सेप्टी पिनले हल्का कोरेर लेखेको ‘राज’ अझै मेटिएको रहेनछ । खुशीले धड्किरहेको मुटु थामेर भनेँ, “यो त मेरो मोवाइल हो । मसँग थुप्रै प्रमाणहरु छन् ।” 
उनले तुरुन्तै ह्यान्डस फ्रि राखेर दाइलाई फोन गरेर बेलिबिस्तार लगाइन् । ”अब त पुलिस केश नै गर्नुपर्ला जस्तो छ नि दाइ ।” 
उता दाइले हड्बडाउँदै भने, ”पर्दैन, पर्दैन मोबाइल उनैलाई दिएर आउनू ।”

प्रतिक्रिया दिनुहोस