कार दुर्घटनामा मृत्यु भएकामध्ये ५ जनाको सनाखत

सफल खबर संवाददाता

मंगलबार, ०७ असोज २०७६, ११ : ५२
कार दुर्घटनामा मृत्यु भएकामध्ये ५ जनाको सनाखत

नवलपरासी । पूर्वी नवलपरासीमा डरलाग्दो दुर्घटनामा परि ज्यान गुमाएका ६ जनाको सनाखद भएको छ ।  कार र ट्रक एकआपसमा ठोक्किदा ५ जनाको मृत्यु भएको थियो भने बस पल्टिदा चालकको मृत्यु भएको थियो । राति १० बजेको समयमा  पूर्वी नवलपरासीस्थित कावासोती ८ को खरकट्टाको जंगलमा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । नवलपरासीपूर्व देवचुली नगरपालिकाबाट पश्चिमतिरको यात्रामा निस्केका कारमा सवार पाँच जना यात्रु चढेको बा२१च ६४०९ नम्बरको कारलाई सोमबार राति ९ बजे विपरीत दिशाबाट आएको लु१ख ८५३२ नम्बरको ट्रकले ठक्कर दिँदा पाँच जनाको मृत्यु भएको थियो। ठक्करबाट निधन हुनेहरूमा नवलपरासी (पूर्व) देवचुली(१ का पूर्णबहादुर विक, देवचुली १० का दीपेश राना तथा हिरा राना एवम् कैलालीका दिलबहादुर ढेडामगर  र सुरज रानामगर रहेका छन्।

मृतकमध्ये कारका चालक को हुन् भन्ने पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ। उनीहरू किन र कहाँसम्मको यात्रामा निस्केका थिए भन्ने खुलेको छैन।

दुर्घटनाको खबर पाएपछि पुगेको प्रहरीले कच्याककुचुक भएको कारबाट उनीहरूलाई उद्धार गरी जिल्ला अस्पताल भरतपुर चितवन पठाएको थियो। उनीहरूको उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । प्रहरीले ट्रकका चालक ३० वर्षीय बुद्धिराम चौधरीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान भइरहेको नवपरासी प्रहरीले बताएको छ । चालकले प्रहरीलाई दिएको प्रारम्भीक बयानका अनुसार कार र ट्रक दुवै तीब्र गतिमा थिए । भैरहवाबाट काठमाडौं गइरहेको लोडेड ट्रकको दाहिनेतर्फको भागले कारलाई ठक्कर दिएको चालक चौधरीले प्रहरीसमक्ष बयान दिएका छन्।

बस पल्टिँदा एक जनाको मृत्यु
नवलपरासीको मध्यविन्दु नगरपालिका –१० राति पौने २ बजे दाङबाट काठमाण्डौका लागि छुटेको बस पल्टिँदा एक जनाको ज्यान गएको छ । १५ जना घाइते भएका छन् । ना ७ ख ८६४२ नम्बरको बस आफैँ अनियन्त्रित भएर पल्टिएको हो । बस पल्टिँदा मकवानपुर घर भएका बसका चालक ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका १५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार चार जनाको नवलपुर अस्पताल, एक जनाको कालिगण्डकी अस्पताल र १० जनाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस