देउवाको आरोप : कर्मचारीलाई सत्तासीन पार्टीले आफ्ना कार्यकर्ताजस्तो बनाए

विहीबार, ०२ असोज २०७६, १६ : १३
देउवाको आरोप : कर्मचारीलाई सत्तासीन पार्टीले आफ्ना कार्यकर्ताजस्तो बनाए

काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले राज्यअ‌ातंक मच्चाएको अ‌ारोप लगाएका छन् । उनले प्रहरी र सरकारी कर्मचारीलाई सत्तासीन पार्टीले आफ्ना कार्यकर्ताजस्तो बनाएको आरोप पनि लगाएका छन् ।

संसद्को चौथो अधिवेशनको अन्तिम दिन बैठकलाई सम्बोधन गर्दै देउवाले नागरिकको जीउधन र अधिकारको रक्षा गर्न सरकार असफल भएको दावी गरे । उनले भने, ‘यो सरकार गठन भएको डेढ वर्ष पुग्दासम्म संविधानप्रतिको अपनत्वको दायरा विस्तार गर्ने र संविधानको सर्वस्वीकार्यता स्थापित गर्ने काममा सरकार असफल छ ।

संविधानको मर्म र भावनाअनुरुप संघीयतको बाँकी कार्यभार पूरा गर्न सरकार असफल भएको छ ।’ सरकारले विवादास्पद विधेयक ल्याएको, प्रतिपक्षीको आवाज नसुनेको, विदेश नीतिमा कमजोरी गरेको उनले आरोप लगाए । 

सरकार बनेको छोटो अबधिमा संघीयदेखि स्थानीय सरकारले कर बृद्धि गरेको र महँगी नियन्त्रण गर्न नसकेर जनतालाई मारमा पारेको देउवाले बताए। जनताका आधारभुत आवश्यकतामा सरकारले ध्यान नदिएको पनि उनले बताए। ‘म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु के तपाईंलाई बजारभाउ थाहा छरु’ देउवाले प्रश्न गरे।

संविधानको मर्म र भावनाअनुसार काम हुन नसकेको उनले बताए। ‘सरकार बनेको डेढ वर्षसम्म संविधान सर्वस्वीकार्य स्थापित गर्ने र संघीयताको बाँकी कार्यभार पूरा गर्न असफल हुनु दुःखद हो,’ देउवाले भने, ‘सरकार एकपछि अर्को संविधान विपरीतका विधेयकहरू पेश गर्दैछ। प्रतिपक्षको कुरा नसुनेर बलजफ्ती पास गर्दैछ।’

सरकारले न्यायपालिका र संसदलाई खेलौना बनाउन उद्दत भएको पनि उनले आरोप लगाए। ‘मानव अधिकार आयोगलाई सरकार नियन्त्रण गर्न खोज्दैछ,’ उनले भने, ‘अधिकार बाँडफाँट स्थानीय तहदेखि प्रदेशमा हुन सकेको छैन। सरकार सर्वशक्तिमान बन्दैछ।’

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारी र हत्या पत्ता लगाउन सरकारले किन नचाहेको हो भनेर पनि देउवाले प्रश्न गरे। 

प्रतिक्रिया दिनुहोस