वाल हिंसा सरकारलाई सैह्य हुदैन : प्रधानमन्त्री

सफल खबर संवाददाता

आइतबार, २९ भदौ २०७६, ०८ : १५
वाल हिंसा सरकारलाई सैह्य हुदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बालबालिकाका विरुद्धमा भइरहेका हिंसा, शोषण र दुव्र्यवहार सैह्य नहुने बताएका छन् । राष्ट्रिय वाल दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले बालबालिकाका विरुद्धमा भइरहेका कुनै पनि प्रकारका हिंसा सरकारका लागि सैह्य र क्षम्य हुन नसक्ने बताएका हुन् ।  

बालबालिकाको हक, हित र बाल अधिकारको संरक्षण तथा सम्वद्र्धनका लागि संयुक्त राष्ट्र संघीय बाल अधिकारसम्बन्धी महासन्धिका प्रावधान, हाम्रा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतिबद्धता  र नेपालको संविधान र कानुनले प्रत्याभूत गरेका बालबालिकाको हक हितको कार्यान्वयन नेपाल सरकारको सर्वोच्च प्राथमिकताका विषय रहेको उल्लेख गर्दैै प्रधानमन्त्रीले त्यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले बालबालिकाहरूले  पोषण, स्वास्थ र शिक्षाको उपयुक्त अवसर पाउनु उनीहरूको अधिकार रहेको समेत बताएका छन् ।

संविधानको धारा ३९ ले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहारसहित सर्वाङ्गीण विकासको हक सुनिश्चित गरेको स्मरण समेत प्रधानमन्त्री ओलीले आफ्नो वक्तब्यमार्फत गरेका छन् । 

निरक्षरता विरुद्ध अभियान चलाउने क्रममा सरकारले बालअधिकारको पहिलो पाइलाको रुपमा आधारभूत तहको शिक्षा निःशुल्क गरेको पनि प्रधानमन्त्रीको भनाई छ ।

उनले पढ्ने अवसरबाट कुनै पनि बालबालिका बञ्चित हुन नपरोस् भन्ने कुरामा सरकार सचेत रहेको पनि बताए । 

‘सरकारले विपन्न परिवारका केही बालबालिकाको शैक्षिक अभिभावकत्व समेत ग्रहण गरी आगामी दुई वर्षभित्र विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई विद्यालय भर्ना गर्ने लक्ष्य निश्चित गरेको छ,’ प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ, –‘प्राथमिक तहमा भर्ना भएका जुनसुकै विद्यार्थीले पनि माध्यमिक तहको शिक्षा पूरा गर्ने सुनि‍श्चितताको लागि लक्षित वर्ग केन्द्रित छात्रवृत्ति, दिवा खाजा र विद्यार्थीमैत्री पाठ्यक्रमको व्यवस्था गर्ने नीति लागू गरिएको छ ।’

सरकारले बालबालिकाको स्वास्थ्य र शारीरिक विकासप्रति संवेदनशील भएकोले नै “सुनौलो एक हजार दिन” कार्यक्रम सञ्चालन गरेको, समग्र परिवारलाई समेट्ने गरी राष्ट्रिय रुपमा स्वास्थ्य विमा कार्यक्रम सुरु गरिएको र संयुक्त राष्ट्रसंघीय पोषण सम्बन्धी विश्व भेला आगामी नोभेम्बरमा काठमाडौंमा आयोजना गर्न लागिएको पनि प्रधनमन्त्रीले वताएका छन् ।

प्रधानमन्त्रीले कुनै पनि बालबालिकाले सडकमा जीवन गुजार्नु नपरोस् भन्ने उद्देश्यले सडक बालबालिकाको व्यवस्थापन, बालश्रम निमूर्लन र जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाको जीवनमा परिवर्तन गर्न सरकारले विशेष पहल गर्न खोजेको पनि प्रधानमन्त्रीको भनाई थियो ।
 

प्रतिक्रिया दिनुहोस