भरतपुर क्यान्सर अस्पतालको १३ करोड बढी आम्दानी

सोमबार, १६ भदौ २०७६, १६ : ०८
भरतपुर क्यान्सर अस्पतालको १३ करोड बढी आम्दानी

भरतपुर । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सेवा विस्तार भएसँगै आन्तरिक आम्दानीमा वृद्धि भएको छ । अस्पतालका अत्यावश्यक सेवा सञ्चालन भएपछि आम्दानी बढेको हो ।  

अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार गत आवमा रु ३२ करोड ५२ लाख ८२ हजार आम्दानी भएको थियो । अघिल्लो आवभन्दा रु १३ करोड ११ लाख ४३ हजार बढी आम्दानी भएको छ । आव २०७४÷७५ मा रु १९ करोड ४१ लाख ३९ हजार तथा आव २०७३÷७४ मा अस्पतालको आम्दानी रु १८ करोड ४२ लाख ३१ हजार थियो । “सेवा विस्तार र सुदृढ भएसँगै बिरामीले सेवा लिने अवसर पाएका छन्”, उहाँले भन्नुभयो । भदौ १५ गतेदेखि १९४ श्यया बढाएर ४४३ श्यया पु¥याइएको छ । 

क्यान्सर रोगीका लागि अत्यावश्यक रेडियोथेरापी मेशिनको अभाव छ । यहाँ दैनिक झण्डै १६० जनाले सेवा पाउने गरेका छन् । रेडियोथेरापी र प्याथोलोजी विभागका उपकरण पनि सञ्चालनमा आएका छन् । भिडियो एक्स–रे, म्यामोग्राफी र एमआरआई सेवा अवरुद्ध भए मर्मतसम्भार र नयाँ खरीद गरी सञ्चालनमा ल्याइएको छ । सिटी स्क्यान, एमआरआई तथा म्यामोग्राफी सेवा लिन पालो लिनुपर्ने अवस्थाको अन्त्य भएको छ । 

‘सेवा सञ्चालन र श्यया थपिएसँगै अस्पतालको आम्दानी बढेको हो’, आचार्यले बताउनुभयो । बिरामी बाहिर जानु नपरोस् भनेर फार्मेसी सञ्चालनमा ल्याइएको छ । तीन वर्ष अघि अस्पताल अस्तव्यस्त बनेपछि स्थानीय प्रशासनले हस्तक्षेप गरेको थियो ।

तत्कालीन समयमा अधिकांश उपकरण बिग्रिएका, प्याथोलोजीका सामग्री नभएका, कर्मचारी कार्यालय समयमा बाहिर जाने जस्ता समस्या देखिएपछि स्थानीय प्रशासनले हस्तक्षेप गरी सुधारका लागि पहल थालेको थियो । 
सो पश्चात् नियुक्त हुनुभएका कार्यकारी निर्देशक आचार्यले निरन्तरको प्रयासपछि अस्पताल सुधारको बाटोमा अघि बढेको यसका सूचकहरुले देखाएको बताउनुभयो । रासस
 

प्रतिक्रिया दिनुहोस