बद्लिँदो भूराजनीति, शकुन्तला, कालिदासको बन्चरो र बिचरा कांग्रेस

शनिबार, १४ भदौ २०७६, १३ : ४०
बद्लिँदो भूराजनीति, शकुन्तला, कालिदासको बन्चरो र बिचरा कांग्रेस

– साकार लामा
भारत सरकारले रुस सरकारसँग एस ४०० नामक अत्याधुनिक हवाई सुरक्षा यन्त्र पाँच बिलियन डलरमा खरिद गर्ने सम्झौता गर्यो । यो रुसी मिसाईल रक्षा यन्त्रलाई हवाईरक्षामा संसारकै सबैभन्दा उत्कृष्ट मानिन्छ । त्यो सहमति/सम्झौता उपर भारतको मित्र मानिने अमेरिकाले तत्कालै खुलेर विरोध जनायो । उसले आफ्नो मित्र देश भारतलाई रुसी एस-४००को विकल्प अमेरिकी रक्षायन्त्र PAC-3 वा THAAD (मिसाईल रक्षायन्त्र) खरिद गर्ने अनुरोध गर्यो । साथै,भारतले अटेर गरेमा अमेरिकी कानुन व्यवस्था- Countering America´s Adversaries through sanctions Act अन्तर्गत भारतलाई प्रतिबन्ध लगाउने धम्की दियो । 

यो CAATSA कानुन अन्तर्गत अमेरिकाका शत्रु राष्ट्र मार्फत १५ मिलियन डलरभन्दा माथिको खरिदसम्झौता गरेमा उक्त खरिद गर्ने देशलाई अर्थिक र वित्तीय प्रतिबन्ध लगाउने अमेरिकी कानुनी व्यवस्था छ । यस कानुनमाथि टेकेर दिएको अमेरिकी चेतावनीका डरले भारतले २०१८ मा पुटिन भारत आउँदा गरिएको सम्झौताको रकम रुसलाई दिन केही समय ढिलाइ गर्यो । तर, हालसालै भारत सरकारले रुसी सरकारलाई सम्झौता बमोजिमको अग्रिम किस्ता रकम बुझाएको छ ।

भारतको अमेरिकालाई चिढाउने कदममाथि रुस सरकारले एक कदम अघि बढेर आफ्नो खरिदकर्ताको बचाउ गर्यो । रुसले डलर निकै कमजोर हुँदै गरेकाले अब बाँकी किस्ता रकम भारत सरकारलाई भारतीय रुपैयाँमै तिर्न सक्ने सुबिधा प्रस्ताव गर्यो ।

अमेरिकी साम्राज्यवादको मुख्य आधार डलरको बिश्वबजारमा दबदबा र हतियारको कारोबारमा एकाधिकारलाई मानिन्छ । भारतको रुससँग रक्षाप्रणाली खरिद गर्ने साहस वा दुस्साहस र रुसको डलरको प्रभुत्व समाप्तिको आशयको प्रस्तावले अमेरिकी साम्राज्यवादको प्रमुख दुवै आधारमाथि हमला भएको देखाउँछ । आफ्नो अस्तित्व नै आफ्नो दबदबा मान्ने अमेरिकी साम्राज्यवाद अब चुप नबस्ने निश्चित छ । अमेरिका भारतलाई पाठ पढाउन कुनै कठोर कदम अवश्य चाल्नेछ । सायद त्यो वित्तीय प्रतिबन्ध हुन सक्छ । तर, दुई मित्रशक्ति राष्ट्रहरु बीचको सम्बन्ध र शक्ति सन्तुलनमा आउने परिवर्तनले समग्र विश्वलाई नै असर पुर्‍याउने छ । 

हाम्रो देशको मामिलामा सबैभन्दा चासो राख्ने भारत र त्यसपछिको अमेरिकाको बद्लिएको सम्बन्धले पक्कै पनि हामीलाई असर गर्नेछ । यो बद्लिदो जटिल भूराजनीति र कुटनीतिको परिस्थितिमा के हामी राष्ट्रका रुपमा सजग र तयार छौं त ? उत्तर छैनौं ।

उत्तर किन छैनौं भन्दा, यो देशको सरकारको समाजवाद उन्मुख यात्रा ऋषि विश्वामित्रकी छोरी शकुन्तलाको आफ्ना प्रेमी राजा दुस्यन्तसँग पुनर्मिलनका लागि भेट्न गएको यात्रा जस्तो भएको छ । जसरी, यात्रामा दुस्यन्तलाई प्राप्त गर्ने एकैमात्रै आधार दुष्यन्तले दिएको औंठी शकुन्तलाले खोलामा हराउँछिन् । त्यसरी नै यो सरकारले आफ्नो लक्ष्य समाजवादलाई दुईतिहाइको धङ्धङीमा हराएको छ । राजा दुस्यन्तको औंठी त एउटा माझी भेटाईदिएको कथा छ,तर हाम्रो समाजवादको वास्तविक सार कसले सरकारलाई सम्झाइदिने र बुझाईदिन हो ? थाहा छैन ।

सरकारलाई त हामी गाली गरौँला तर नालायकीपनको सारा हद,रेकर्ड तोड्ने लाचार प्रतिपक्ष देख्दा पनि दया लाग्छ । त्यत्रो, जाहानियाँ राणालाई हटाउने प्रजातन्त्र ल्याउने कांग्रेस,आज बिचरा हेर त त्यत्रो कांग्रेस, त्यो एउटा स्वघोषित ढोँगी भगवानको फेरो समातेर सरकार घेर्ने थाल्या छ । कांग्रेसका कस्ता दुर्दिन आए भने कांग्रेस जोगाउन मण्डले उद्धव पौडेलको ज्वाइँ गुहारन पर्या छ । 

देशमा गणतन्त्र ल्याउने आन्दोलनको सहयात्री कांग्रेस कहिले डलरे रविन्द्रको भरमा, कहिले ठूलो दाइको डरमा कुचक्र पर्या छ । कसैले सम्झाइदिए हुन्थ्यो बीपी कोइरालाका पार्टीका नेताहरुलाई कि उ नेपालको संविधान लेखनको मुख्य हिस्सेदारमध्येको एक हो भन्ने । आज विवादमा ल्याउन जबरदस्त खोजिएको गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता कांग्रेसकै पनि एजेन्डा हो । 

कांग्रेस प्रतिपक्ष हो, उसले सत्तापक्षलाई सचेत गर्दै विरोध गरोस् । तर उसले हिजोको त्याग,बलिदान र आन्दोलनलाई भुल्दै बहकावमा नेपाली जनताले ल्याएको यो व्यवस्थामाथि नै जानेर वा नजानेर घुमाउरो प्रहार गर्दैछ । यो आफैंमाथि प्रहार गर्ने कतैबाट निर्देशित कांग्रेसी बन्चरोलाई कालिदासकै बन्चरोको तहमा राख्न सकिन्छ ।

यो बद्लिँदो भू-राजनीतिक अवस्थामा पनि मेरो देश बाँचिरहोस्, यो ठूलो बलिदानी र आन्दोलनले ल्याएको गणतन्त्र बाँचिरहोस् । जय नेपाल l
(मुसा प्रबृत्तिका कमल थापाहरुकै जस्तै एजेन्डा बोक्ने तिनका नयाँ साथी(सारथिहरुले भन्ने जयनेपाल होइन, यो व्यवस्था ल्याउन सहिद भएका जनताका छोरा शुत्रराज शास्त्रीले भन्ने  जय नेपाल l)

प्रतिक्रिया दिनुहोस