झाडावान्ताबाट कसरी बच्ने ?

पत्रपत्रिकाबाट

शुक्रबार, १३ भदौ २०७६, ०९ : ३८
झाडावान्ताबाट कसरी बच्ने ?

गर्मी मौसमलाई रोगका लागि जोखिमयुक्त मौसम मानिन्छ । अरू बेला सामान्य रहेका मानिस यो मौसममा बढी प्रभावित हुने गरेको चिकित्सक बताउँछन् । गर्मी बढेसँगै अस्पतालमा विषाक्त खानाको असर, झाडावान्ता, आउँ, टाइफाइड र जन्डिसजस्ता रोगका बिरामी बढ्दै गएको राजधानीका अस्पतालले जानकारी दिएका छन् ।

हेल्पिङ ह्यान्डस सामुदायिक असपतालका अनुसार यतिखेर कुल बिरामीको १० प्रतिशत गर्मीमा लाग्ने रोगका बिरामी आउने गरेका छन् । अस्पतालमा दैनिक पाँच सयजना बिरामी बहिरंग विभागमा पुग्छन् । वीर अस्पतालको आकस्मिक कक्षमा मात्र दैनिक दुईदेखि तीनजना बिरामी पुगिरहेका छन् । शुक्रराज ट्रपिकल अस्पतालका अनुसार तीन सातादेखि झाडा–वान्ताका बिरामी भर्ना भइरहेका छन् ।

यस्तो समस्या लिएर आठदेखि १५ जना आकस्मिक कक्षमा मात्र पुगेका छन् । तीमध्ये आठजना भर्ना हुन्छन् बाँकी आकस्मिक कक्षकै उपचारपछि डिस्चार्ज हुने गरेका छन् । उपचारका लागि पुग्नेमा झाडापखाला, वान्ता हुने, ज्वरो आउने, पेट दुख्ने, फुडप्वाइजन हुनेजस्ता समस्या पाइएको छ । तिनीहरूमा धेरैजसो घरबाहिर खाना खाने र विपन्न समुदायका मानिस रहेको अस्पतालहरूले जनाएका छन् ।

यी रोग दूषित खाना तथा पानीका कारण देखिएको चिकित्सकहरू बताउँछन् । ‘पशु तथा मानिसको दिसा मिश्रित पानी तथा खानाको प्रयोग भएमा यस्ता रोग लाग्छन्, यस्ता खानाबाट दिसामिश्रित कीटाणु पेटमा पुगेपछि असर गर्ने हो,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा। अनुपराज बास्तोलाले भने । वर्षामा भेलबाढीले पानीका स्रोतमा फोहोर मिसिने, त्यो पानी मानिसले प्रयोग गर्ने, शौचालयको राम्रो सफाइ नगर्ने, गर्मीको बेला खानेकुरामा झिँगा भन्किने र यस्ता खाना खाँदा यी रोग लाग्ने वीर अस्पताल आकस्मिक कक्ष प्रमुख डा। सुरेश नेपाल बताउँछन् । झाडापखाला बढी भएमा विशेषगरी बच्चामा जलवियोजन भई मिर्गौला फेल हुने हुनाले बच्चा बिरामी भएमा बढी सचेत हुन चिकित्सकहरू सुझाउँछन् ।

लक्षणहरू
–झाडापखाला लाग्ने
–वान्ता हुने
– पेट दुख्ने
–ज्वरो आउने
–खान मन नलाग्ने

कसरी बच्ने ?
–खाना खानुअघि राम्रोसित हात धुने
–घरवरिपरीको वातावरण सफा राख्ने
–शौचालय तथा व्यक्तिगत सफाइमा ध्यान दिने
–बासी–सडेगलेका खानेकुरा नखाने
–सकेसम्म घरबाहिरका खाने कुरा नखाने
–खानै परे भरपर्दो ठाउँमा मात्र खाने
–पानी उमालेर या प्रशोधन गरेर मात्र खाने
–ताजा तथा घरमा राम्रोसित पकाएका खानेकुरा मात्र खाने
– धेरै समय राखेका खाना नखाने
–पर्याप्त पानी पिउने
–खुला ठाउँमा राखिएका खानेकुरा नखाने     

प्रतिक्रिया दिनुहोस