बैठकमा सभामुखले बच्चालाई दूध खुवाउँदा ...

एजेन्सी

शुक्रबार, ०६ भदौ २०७६, १४ : ३४
बैठकमा सभामुखले बच्चालाई दूध खुवाउँदा ...

न्युजिल्याण्ड । संसदीय व्यवस्थामा सभामुखको काम संसद चलाउने हो। सरकार र प्रतिपक्षका सांसदलाई मिलाएर विधेयक र समयसामयिक विषयमा छलफल र बहस गराउने जिम्मा उनको हुन्छ। कहिलेकाहीँ यो भूमिका निभाउन सजिलो हुन्छ, विवादित विषय र चर्काचर्की बहस हुँदा कठिन।

संसदमा यस्तै चर्काचर्की बहस भइरहेका बेला न्युजिल्याण्डका सभामुखले बच्चालाई दूध खुवाएर बसेका छन्।

यो बुधबारको घटना हो। सांसदहरूले तर्कवितर्क गरिरहेका बेला सभामुख ट्रेभर मालार्डले आफ्नो काखमा एक बच्चा राखेका थिए र उसलाई बोतलबाट दूध खुवाइरहेका थिए। डेढ महिनाको ती बालक सत्तारूढ लेबर पार्टीकी सांसद तमाटी कोफीमा छोरा हुन्। सांसद कोफी बच्चा समाएरै बहस गर्न थालेपछि सभामुखले  आफूले बच्चा समाइदिने बताएका थिए।  

सभामुख मालार्ड साँझ ट्वीट गर्दै सभामुखको कुर्सीमा प्रायस् जिम्मेवार अधिकारीमात्र बस्छन्। तर आज  मसँग एकजना भिआइपी पनि कुर्सीमा बसे भन्दै फोटोसहितको ट्वीट गरेका छन्।

मालार्डले ती बच्चालाई दूध खुवाइरहेको भिडिओ पनि सार्वजनिक भएको छ। भिडिओ अहिले भाइरल बनिरहेको छ। धेरैले उनको यो कामको तारिफ गरेका छन्।

प्रतिक्रिया दिनुहोस