यसरी बनाउन सकिन्छ स्वादिष्ट क्वाँटी

सफल खबर संवाददाता

बुधबार, २९ साउन २०७६, १५ : १५
यसरी बनाउन सकिन्छ स्वादिष्ट क्वाँटी

हिन्दूहरुको पर्व जनैपूर्णिमाको दिन हिन्दू परिवारको घरघरमा क्वाँटी पाक्ने गर्छ । रक्षाबन्धन अर्थात् जनैपूर्णिमाका दिन हिन्दु धर्मावलम्बीमा क्वाँटी खाने प्रचलन छ । 

स्वास्थ्यका दृष्टिकोणले क्वाँटी निकै राम्रो मानिन्छ । चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउको मिश्रण नै क्वाँटी हो । वर्षाको मौसममा खेतीकिसानी गर्नेहरुलाई बढी पौष्टिक आहार चाहिने भएकाले क्वाँटीको विशेष महत्व छ ।

क्वाँटीबाट शक्ति र स्वाद दुबै पाइने भएकाले यसको विशेषता छ । यसमा पूर्ण प्रोटिन पाइन्छ । फरक–फरक गेडागुडीको मिश्रणबाट तयार पारिने भएकाले क्वाँटीलाई शक्तिबद्र्धक पौष्टिक आहारका रुपमा लिइन्छ । यसमा भिटामिन ‘बि’ को सबैजसो प्रकारकाहरु पाइन्छ । रोगप्रतिरोधात्मक क्षमता बढाउने ‘एन्टी अक्सिडेन्ट’ पनि क्वाँटीमा पाइन्छ । क्यालोरीको मात्रा पनि बढी हुने भएकाले धेरै प्रकारका रोगीलाई फाइदाजनक हुन्छ ।

क्वाँटी चर्चित परिकार हो । होटलमा समेत क्वाँटी बनाएर बेच्ने गरेको पाइन्छ । तरिका जान्ने हो भने घरमै पनि स्वादिष्ट क्वाँटी बनाएर खान सकिन्छ ।

आवश्यक सामग्री

१. गेडागुड़ी 
२. नुन 
३. तेल
४. गरम मसला 
५. जिरा र धनियाँको धुलो
६. बेसार
७. पिसेको अदुवा र लसुन
८. पिसेको रातो खुर्सानी
९. ज्वानु

बनाउने तरिका
– गेडागुडीलाई एकदेखि २ दिनसम्म भिजाउने,
– भिजाएको गेडागुडीलाई कुकरमा पाक्ने गरी बेसार हालेर उसिन्ने,
– डेक्चीमा आवश्यकताअनुसार पानी उमाल्ने,
– पानी उम्लिएपछि उसिनेको गेडागुडी राख्ने अनि नुन, जिराको धुलो, खुर्सानीको धुलो, अदुवा र लसुन राख्ने,
– क्वाँटीलाई सानो आगोमा १०–१५ मिनेट उमाल्ने,
– त्यसपछि तेल र घिउ ज्वानो राखेर झान्ने र धनियाँ राख्ने,
– यसरी पकाएको क्वाँटीलाई मासु वा सानो रोटी राखेर पनि खान सकिन्छ ।

प्रतिक्रिया दिनुहोस