प्रचण्ड योजना

नेपाल समृद्ध र चितवन विकसित बनाउने प्रचण्डको प्रतिवद्धता

बुधबार, २९ कार्तिक २०७४, ०८ : २१
नेपाल समृद्ध र चितवन विकसित बनाउने प्रचण्डको प्रतिवद्धता

चितवन । चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार साँझ भरतपुरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् ।
‘म साना सपना लिएर चितवन आएको होइन’ प्रतिवद्धतापत्र सार्वजनिक गरेपछि पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘म मेरो राजनीतिक जीवनमा जहाँ छु, जस्तो छु, त्यो चितवनले नै बनाएको हो । चितवनलाई गुन तिर्न पनि आएको हुँ ।’ संविधान निर्माणको काम पूरा भएपछि अब देश आर्थिक विकासको चरणमा आएको बताउँदै प्रचण्डले भने, ‘आर्थिक विकास र समृद्धिको यात्रा चितवनबाट सुरु गर्नुपर्छ भनेर आएको हुँ ।’
‘देशलाई समृद्ध गर्दै जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गरी समाजवादमा पु¥याउन पुनः नयाँ प्रतिवद्धताका साथ हाम्रो मुख्य नेतृत्व कमरेड प्रचण्ड चितवनबाटै यसको नेतृत्व गर्ने संकल्पका साथ आउनु भएको छ’ नेकपा माओवादी केन्द्र, चितवन क्षेत्र नम्बर तीन, प्रचार प्रसार समितिले प्रकाशित गरेको तीसबुँदे प्रतिवद्धतापत्रमा भनिएको छ, ‘चितवनका जनताको विश्वासको बलमा राष्ट्रिय नेतृत्व लिएर देशलाई समृद्धि र समानताको नयाँ अभियानको बाटोमा अगाडि बढाउने संकल्प कमरेड प्रचण्डको रहेको छ ।’


नेपाललाई समृद्ध र विकसित राष्ट्रको रुपमा निर्माण गर्न बहुमतप्राप्त सरकारको आवश्यकतालाई पूरा गर्न नेकपा एमालेसँग पार्टी एकताको उद्देश्यसहित चुनावी गठबन्धनको अगुवाई प्रचण्डले गरेको प्रतिवद्धतापत्रमा उल्लेख छ । चितवनलाई देशको विकासको नमुना बनाउन वाम गठबन्धनको साझा उम्मेदवारका रुपमा प्रचण्डलाई उम्मेदवार बनाइएको दाबी प्रतिवद्धतापत्रमा छ ।

 


प्रचण्डका दुई सपना
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले सार्वजनिक गरेको प्रतिवद्धतापत्रमा दुई वटा महत्वाकांक्षी सपना समावेश छन् । चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार प्रचण्डको पहिलो सपना हो, समृद्ध र विकसित चितवन । जसमा भनिएको छ, चितवनमा मेट्रो÷मोनो रेलको सम्भाव्यता अध्ययन गरी त्यसलाई सञ्चालनमा ल्याइने छ । नारायणी र राप्ती नदीमा तटबन्धन गरी फराकिलो रिङरोड निर्माण गरिने छ । शारदानगरमा अन्तर्राष्ट्रिय स्तरको खेलकुद रंगशाला निर्माण गरिने छ ।
‘जोखिमपूर्ण बस्तीको स्थानान्तरण, नदीले कटान गरिएका जमिनको क्षतिपूर्ति, बाँदरझुलाका जनताको भरपर्दो र वैज्ञानिक समाधान निकालिने छ’ समृद्ध र विकसित चितवनको सपना शीर्षकमा भनिएको छ, ‘चितवनमा सञ्चार अध्ययन प्रतिष्ठान स्थापना गर्न पहल गरिने छ ।’ भण्डारा मलेखु सडकलाई स्तरोन्नतिसहित पूर्णता दिइने र शक्तिखोर फिस्लिङ सडक निर्माण गरिने प्रचण्डको प्रतिवद्धतापत्रमा उल्लेख छ ।
पूर्वप्रधानमन्त्री प्रचण्डको दोस्रो सपना हो, समृद्ध माडी र सम्पन्न माडीवासी । ‘आगामी पाँच वर्षमा माडी र बाँकी चितवन जोड्ने गरी राष्ट्रिय निकुञ्जमा अण्डरग्राउण्ड सडक वा ओभरफ्लाइ सडकमध्ये एक निर्माण गरिने छ । यो सडक निर्माणले यातायात, विद्युत, टेलिफोन, इन्टरनेट सेवा सहज हुनेछ’ प्रतिवद्धतापत्रमा भनिएको छ, ‘जनयुद्धका क्रममा हाम्रो पार्टीको भुलवश भएको बाँदरमुढे दुर्घटनामा दिवंगतहरुको चिरस्मरणमा पार्क निर्माण गरिने छ ।’


रोजगार र आवासमा जोड
भरतपुरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सार्वजनिक प्रतिवद्धतापत्रमा दुई वटा महत्वाकांक्षी योजना समावेश छन् । चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार प्रचण्डको पहिलो योजना नै प्रचण्ड रोजगार योजना रहेको छ । जसमा भनिएको छ, उद्योग, कृषि, सेवा, यातायात लगायतका क्षेत्रहरुबाट आगामी पाँच वर्षभित्र पचास हजार नयाँ रोजगार सिर्जना गरिने छ । यस्ता रोजगारहरुमा चितवनका विपन्न परिवारलाई प्राथमिकतामा राखिने छ । चितवनको औद्योगिकरणका लागि चालु योजनाहरुको कार्यान्वयन तथा नयाँ योजनाहरुको माध्यमबाट रोजगारीका थप अवसर सिर्जना गरिने छ ।
पूर्वप्रधानमन्त्री प्रचण्डको दोस्रो योजना हो, प्रचण्ड आवास योजना । ‘भूमिहीन सुकुम्बासीहरुलाई पहिलो प्राथमिकताका साथ उनीहरु हाल बसोबास गरेकै क्षेत्र वा पायक पर्ने ठाउँमा बहुतलाको आधुनिक आवास गृह निर्माण गरी वितरण गरिने छ’ उक्त योजनामा भनिएको छ, ‘सामन्तवादबाट देश पुँजीवादमा पाइला टेक्दै गरेको यो समयमा सुकुम्बासी समस्याको स्थायी समाधानको लागि आवास र रोजगारीको सन्तुलनबाट हल गर्ने उद्देश्य लिइएको छ ।’
 

प्रतिक्रिया दिनुहोस