आफ्नै पार्टी प्रवक्तालाई नै किन भेटदैनन्, प्रधानमन्त्री ?

सफल खबर संवाददाता

बुधबार, २९ साउन २०७६, ०७ : ३५
आफ्नै पार्टी प्रवक्तालाई नै किन भेटदैनन्, प्रधानमन्त्री ?

काठमाडौं । सत्तारुढ दल नेकपामा दुई अध्यक्ष, दुई वरिष्ठ नेता, एक प्रवक्ता र एक महासचिव पदाधिकारी रह्ने गरी विद्यानमा ब्यवस्था छ । वरियताक्रममा तलमाथी भएपनि यी पदहरु पार्टीमा पदाधिकारीको रुपमा विद्यानमा अथ्र्याइएको छ ।

वरिष्ठ नेताहरुसम्मलाई मर्यादाक्रममा क्रमशः अध्यक्षद्धय पछि कै नेतालाई (माधव नेपाल र झलनाथ खनाल) राखिएको छ भने प्रवक्तामा छैटौं नम्बरका नारायणकाजी श्रेष्ठ र महासचिवमा नवौं नम्बरका विष्णु पौडेललाई बनाईएको छ ।

पार्टीमा प्रवक्ताको काम पार्टी अध्यक्षसँग निरन्तर सम्र्पकमा रहेर पार्टीका एकताको राष्ट्रिय महाधिवेशन, राष्ट्रिय परिषद, केन्द्रीय कमिटी, पोलिट्ब्युरो, स्थायी कमिटी र केन्द्रीय सचिवालयलका बैठकका निर्णयहरू सार्वजनिक गर्ने र पार्टीका आधिकारिक निर्णय एवम् धारणाहरू सार्वजनिक गने अधिकार विद्यानमा उल्लेख गरिएको छ ।

तर पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले प्रवक्ता श्रेष्ठलाई भने छलफलका लागि त्यति चासो दिईरहेका छैनन् ।

प्रवक्ता श्रेष्ठ पार्टी नेताहरुको कार्यशैलीको खुलेरै आलोचना गर्दै आईरहेका छन् । पार्टी एकता बलियो बनाउनु पर्ने, सरकारलाई जुनकुनै हालतमा पनि सफल बनाउनै पर्ने अन्यथा कम्युनिष्ट पार्टीकै भविष्य सकिने भन्दै आएका प्रवक्ता श्रेष्ठलाई प्रधानमन्त्री ओलीले रुचाउन सकिरहेका छैनन् ।

प्रवक्ता श्रेष्ठ सिधा छन्, आफुलाई लागेको कुरा सिधै राख्छन् । त्यो शैली प्रधानमन्त्री ओलीलाई पचेको छैन । त्यही कारण पार्टी सचिवालयका अन्य नेताहरुलाई परामर्शका लागि ओलीले बोलाउँदा जहिल्यै प्रवक्ता श्रेष्ठलाई ओलीले खास महत्व दिने गरेका छैनन् ।

सोमबार सिंगापुरबाट उपचार भ्रमणपछि स्वदेश फर्केपछि प्रधानमन्त्री ओलीले आज दिउसो बस्न लागेको सचिवालय बैठकको तयारीका लागि सचिवालयमा रहेका अन्य ७ नेतासँग छलफल गरे । तर प्रवक्ता श्रेष्ठसँग भने छलफलै गरेनन् ।

प्रवक्ता श्रेष्ठले गत वर्ष अनसनमा रहेका डा गोविन्द केसीलाई भेटेको विषयमा सचिवालय बैठकमै प्रधानमन्त्री ओली र प्रवक्ता श्रेष्ठबीच चर्काचर्की परेको थियो । त्यसपछि श्रेष्ठले पार्टी प्रवक्ता पदबाटै राजीनामा दिएका थिए ।

तर सचिवालय बैठकले श्रेष्ठको राजीनामालाई स्वीकृत गरेन । अहिले पनि श्रेष्ठ नै पार्टी प्रवक्ता छन् । तर ओलीले उनलाई प्रवक्ता र पार्टी नेताका रुपमा छलफलका लागि त्यति महत्व दिईरहेका छैनन् ।

सोमबार स्वदेश फर्केपछि ओलीले अध्यक्ष प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री समेत रहेका नेता इश्वर पोखरेल र महासचिव विष्णु पौडेल सँग भेट गरे । हिजो मंगलवार पनि नेताहरु माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, इश्वर पोखरेल र विष्णु पौडेलसँग बिहान, दिउँसो विष्णु पौडेलसहित अध्यक्ष प्रचण्ड र बादल र दिउसो सुवास नेम्वाङ लगायत नेताहरुसँग छलफल गरे । तर उनले प्रवक्तासँग कुनै छलफल नै गर्न चाहेनन् ।

नेकपामा प्रवक्ता श्रेष्ठ ओली निकट नेता इश्वर पोखरेल सँगै स्कुल विभागको नेतृत्व दाबी गरिरहेका छन् । पार्टीको राजनीतिक प्रतिवेदन नेता माधव नेपाल र प्रवक्ता श्रेष्ठ रहेको कार्यदलले तयार पारेको थियो ।

उनी भन्दा वरियतामा अगाडी रहेका अन्य सबै नेताहरुले आफुले रोजेको विभागको नेतृत्व पाउने भएपनि उनकै रोजाईमा आएर भने पार्टी बैठक रोकिएको छ । श्रेष्ठले स्कुल विभाग दाबी गरिरहेका छन् ।

‘ओली उनको कार्यशैली सुधारका लागि सुझाब दिने नेताहरुलाई त्यति रुचाउँदैनन् । आफै ब्रम्हज्ञानी जस्तो अरुका सुझावलाई ओलीले खासै रुचाउँदैनन, ’ ओलीको आनीवानी बुझेका पूर्व एमाले आवरणका नेकपाका एक स्थायी समिति सदस्यले सफल खबरसँग भने, –‘श्रेष्ठ प्रधानमन्त्रीको कार्यशैलीको आलोचक देखिएपछि खास भेटघाट, छलफलमा महत्व नदिएका हुन् ।’
 

प्रतिक्रिया दिनुहोस