‘दसैँअघि डीपीआर आउँछ, दुई वर्षमा रंगशाला ठडिन्छ’

सफल खबर संवाददाता

मंगलबार, २८ साउन २०७६, १३ : २४
‘दसैँअघि डीपीआर आउँछ, दुई वर्षमा रंगशाला ठडिन्छ’

चितवन । धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको दसैँअघि डीपीआर तयार भइसक्ने बताउनुभएको छ । 

आज पत्रकार महासंघ चितवनको शाखा कार्यालयमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष धुर्मुसले बीचमा कुनै किसिमको व्यवधानहरु नआए तोकिएकै समयमा रंगशाला बनिसक्ने बताउनुभयो । पत्रकार सम्मेलनमा अध्यक्ष धुर्मुसले भन्नुभयो ‘देशभर नै रंगशाला निर्माण सहयोग समिति बन्ने क्रम जारी छ, अहिलेसम्म ३० जिल्लामा समिति बनिसकेका छ ।’

अध्यक्ष धुर्मुसले जिल्ला जिल्लामा अभियन्ताहरुको सहयोग समिति पनि बनाइने बताउनुभयो । पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘जिल्लामा बनेको सहयोग समितिले आर्थिक संकलन सुरु भइसकेको छ, एउटा जिल्लामा एक करोड उठ्यो भने पनि ७७ करोड उठ्छ ।’ 

अध्यक्ष धुर्मुसले क्रिकेट रंगशालाको प्रारम्भिक चरणका कामहरु भइरहेको बताउनुभयो । अध्यक्ष धुर्मुसले भन्नुभयो, ‘डीपीआर आएपछि सबै खालका द्विविधाहरु हट्ने छ, अझै मानिसमा केही द्विविधा छन् ।’ 

पत्रकारहरुसँग उहाँले सहयोगको लागि घोषणा गरिएका रकमहरु सबै जम्मा नभइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘घोषित गरिएका रकमहरु डीपीआर अघि नै जम्मा हुन सके काम गर्न सजिलो हुने थियो ।’ उहाँले चितवनलगायत आसपासका सबै जिल्लामा सहयोग समिति बनेको हुनाले रकम संकलन हुने क्रम तीव्र रुपमा भइरहेको बताउनुभयो । उहाँले हालसम्म ७ करोडको हाराहारीमा रकम जम्मा भएको र डीपीआर आएपछि रकम संकलन तीव्ररुपमा हुने बताउनुभयो । 

‘दुई वर्षमा सक्ने लक्ष्यमा हामी छौँ, अझै हामीलाई पूरा विश्वास छ, हामी तोकिएकै समयमा काम सक्छौँ’ अध्यक्ष धुर्मुसले भने, ‘चितवनमा पनि पछिल्लो समय राम्रो माहौल बनिरहेको छ, चितवनवासी अझ बढी जुर्मुराउन सके बाहिरी जिल्लाहरु तात्छन् ।’ उहाँले सम्पूर्ण चितवनवासीलाई रंगशालाको अपनत्व लिन आग्रह गर्नुभयो । 

पत्रकारसँग अध्यक्ष धुर्मुसले भन्नुभयो, ‘यसमा कसैको स्वार्थ जोडिएको छैन, सबैले अपनत्व लिएर रंगशाला निर्माणमा सक्दो सहयोग गर्नुहोस् ।’

प्रतिक्रिया दिनुहोस