पदक विजेता नेपाली खेलाडी नगदसहित सम्मानित

सफल खबर संवाददाता

सोमबार, २७ साउन २०७६, १७ : १६
पदक विजेता नेपाली खेलाडी नगदसहित सम्मानित

काठमाडौं । दक्षिण एसियाली बडिबिल्डिङ एण्ड फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा पदक जित्ने नेपाली खेलाडीलाई सोमबार नगदसहित सम्मान गरिएको छ । नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले ती खेलाडीहरुलाई नगदसहित सम्मान गरेका हुन्।
अध्यक्ष श्रेष्ठले व्यक्तिगत रुपमा खेलाडीलाई सम्मान गर्ने यसअघि नै गरेको घोषणा अनुरुप स्वर्णपदक विजेतालाई ५० हजार, रजत विजेतालाई ३० हजार तथा काँस्यपदक विजेतालाई २० हजार नगदसहित सम्मान गरेका हुन्।
राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा साउनको पहिलो हप्ता सम्पन्न प्रतियोगितामा नेपाल ३ स्वर्ण, ७ रजत र ६ काँस्यपदकसहित दोस्रो भएको थियो। प्रतियोगितामा समीर श्रेष्ठ, नरेश मालाकार र मल्लिका शाक्यले स्वर्ण, कमल भण्डारी, रमेश कार्की, निशान्त प्रधान, राजु राई, प्रमोद राई, रजनी श्रेष्ठ र पूजा श्रेष्ठले रजत र किशान दास दिवाकर, प्रज्ज्वल मान शाक्य, अशोक महर्जन, मिलन सिजापती, कृष्ण महर्जन र सुजित मानन्धरले रजत पदक जितेका थिए।
प्रतियोगिताको स्वर्ण विजेता तीन खेलाडीलाई संघले थाइल्याण्डमा साउन ३१ बाट हुने एसिया प्यासिफिक बडिबिल्डिङ च्याम्पियनसिपमा पठाउने भएको छ। प्रतियोगिताका तीन स्वर्ण विजेतालाई पठाउने तयारी गरे पनि नरेश मालाकार नजाने भएपछि रजत विजेता राजु राईकासाथै ५३औं एसियन बडिबिल्डिङ एण्ड फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा ९ खेलाडी, २ अफिसियल र २ निर्णायक गरी १३ जनाको टोली शुक्रबार थाइल्यान्ड प्रस्थान गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस