नेपालगन्जमा प्रधानमन्त्रीको अपमान: यसरी पोखे कार्याकर्ताले आक्रोश

बुधबार, २९ कार्तिक २०७४, ०८ : २४
नेपालगन्जमा प्रधानमन्त्रीको अपमान: यसरी पोखे कार्याकर्ताले आक्रोश

नेपालगन्ज l प्रदेश ५ र ७ मा आयोजना हुने सुरक्षा गोष्ठीलाई सम्बोधन गरेर गृहजिल्लासम्म चुनावी गतिविधिमा संलग्न हुन निस्ेका देउवालाई बाँकेमा भने कांग्रेस कार्यकर्ताले अपमान गरेका छन् ।

पार्टी सभापति देउवा नेपालगन्ज विमानस्थलमा झरेपछि जिल्ला सभापति किरण कोइरालालगायत सानो समूह लिन पुगेको थियो ।

विमानस्थलमा गए पनि कोइराला विशिष्ट कक्षमा देउवालाई भेट्न गएनन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

'देउवाले धेरै पटक बोलाए पनि कोइरालाले भेट्न इन्कार गरे ।' प्रतक्ष्यदर्शीले भने, 'देउवाको अपमान नै गरियो ।'

 यसरी पोखे कार्याकर्ताले देउवामाथि आक्रोशशिर्षकमा आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

नेपालगन्ज l आधा खुला भएको भुइँतलाको सानो हलमा खचाखच कार्यकर्ता भरिएका थिए कांग्रेस बाँकेको पार्टी कार्यालयमा । सुरक्षाकर्मीलाई भीड मिलाउन हम्मेहम्मे थियो । पार्टी जिल्लासचिव कपिल शर्माले कार्यक्रम सुरु गरे । कार्यकर्तालाई जिज्ञासा राख्न भने । मञ्चमा बसेका प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले जिल्ला सभापति किरण कोइरालासँग कानमा खुसुक्क भन्दै थिए, ‘केको जिज्ञासा छ र ? ऐले ढिला हुन्छ ? ’ कोइरालाले राख्न दिऊँ भन्ने इशारा गरिन् ।

पार्टीमा हैसियत छैन ?
लगत्तै भीडबाट एक जना कार्यकर्ता जुरुक्क उठे । ‘हामी पनि पार्टीमा लागेर जीवनै सक्किन लाग्यो, हाम्रो नामै सिफारिसमा परेन, टिकट वितरणमा रहेका मेरा भाइ उमेरका केन्द्रीय सदस्य किशोरसिंह राठौरले बरु मेरो उमेर सोध्नुभयो ? ’ बाँके क्षेत्र नं. ३ का ती कार्यकर्ता हरिभक्त उप्रेतीको रिस अझै सकिएको थिएन, ‘के हामी जिल्ला बस्नेहरूको पार्टीमा कुनै हैसियत छैन ? ’

कोइराला टाउको हल्लाइरहेकी थिइन्
भीडमा गडगडाहट ताली सुनियो । उनी अझै जोशमा आएर पार्टीप्रति गुनासो गर्दैथिए ‘पार्टी सकिनै लाग्यो सभापतिज्यू, एक त वाम गठबन्धनले त्यसै अप्ठ्यारो छ, त्यसमाथि पार्टी तपाईंकै कारणले सकिन लाग्यो । चुनाव कसरी जितिन्छ ? ’ उनले पार्टी जिल्ला सभापति किरण कोइरालाको समेत नाम समानुपातिक सूचीमा नअटाएको भन्दै गर्दा कोइराला टाउको हल्लाइरहेकी थिइन् । ताली एकनासले बजिरहेको थियो ।

उनलाई कार्यक्रम सञ्चालक जिल्लासचिव शर्माले जोडबल गरेर बसाउन खोजे पनि कार्यकर्ताले ‘हुटिङ’ नछाडेपछि बसाउन सकेनन् । तर, उनलाई जबर्जस्ती बस्न लगाइयो ।

तपाईंहरू मरेपछि मात्रै हाम्रो पालो ?
अर्का कार्यकर्ता सोमबाहदुर थापा जुरुक्क उठेर एक्कासि कुर्लिए ‘सभापतिज्यू कहिलेसम्म हामीले तपाईंहरूको झोला बोकिरहने हो ? के तपाईंहरू मरेपछि मात्रै हाम्रो पालो आउने हो ? ’
उनको आक्रोश निकै बढ्दै थियो । कार्यक्रम सञ्चालकले फेरि माइकबाटै आफ्नो कुरा सक्न भने । झन् रिसाउँदै भने, ‘हाम्रो त जीवन नै सकिन लाग्यो, पार्टी पनि यही कारणले सकिन्छ ? अब कसरी जित्छ कांग्रेसले हामी पनि हेरौंला ।’

अब चुनाव जित्न गाह्रै
फेरि अर्का कार्यकर्ता देउवा नजिकै उभिएर गर्जंदै थिए । ती थिए, मुस्लिम समुदायका कांग्रेसी नेता अब्दुल हमिद सिद्धिकी । उनलाई सुरक्षाकर्मीले केही पछि धकेले । उनी त्यहीँबाटै कुर्लिन सुरु गरे । उनको पनि गुनासो टिकट वितरणप्रति नै थियो । ‘कांग्रेसलाई जनताले हराउँदैनन्, सभापतिज्यू यस्तै कारण आफैंले गर्दा कांग्रेसले हारेको छ’, उनी भन्दै थिए, ‘तपाईंले हाम्रै जिल्ला सभापतिको नामसमेत याद गर्नु भएन, यसरी त अब चुनाव जित्न गाह्रै छ ।’
कार्यक्रम सञ्चालकले जबर्जस्ती गरी उनलाई चुप लगाए तीनजना कार्यकर्ता बोलेपछि ‘फ्लोर’ बन्द भयो ।

आफैंभित्र झगडा नगरौं: देउवा
त्यसपछि पनि कार्यकर्ता सम्झाउन देउवालाई हम्मे-हम्मे भयो । उनले टिकट वितरण ‘अन्याय’ भएको स्वीकार पनि गरे । ‘हो मलाई थाहा छ, एक से एक दुःख गरेका साथीहरूको नाम छुटेको छ, दुःख मलाई पनि लागेको छ’ प्रधानमन्त्री देउवाले कार्यकर्तालाई सम्झाउँदै भने, ‘तर, पनि यतिबेला चुनाव जित्नु छ, यसरी आफैंभित्र झगडा नगरौं ।’

उनले जिल्ला सभापति कोइरालाको नाम छुटेको बारेमा आफूलाई जानकारी नै नभएको भन्दै त्यसप्रति दुःख पनि व्यक्त गरे । उनले भने, ‘हामी आ-आफू पार्टीभित्र पछि लडौंला, अहिले चुनावमा लडौं र कांग्रेसलाई जिताऔं ।’

प्रतिक्रिया दिनुहोस