के हिन्दूराष्ट्रको नाममा प्रतिगमन चाहेको हो नेपाली काँग्रेसले ?

सफल खबर संवाददाता

शनिबार, २५ साउन २०७६, १७ : २७
के हिन्दूराष्ट्रको नाममा प्रतिगमन चाहेको हो नेपाली काँग्रेसले ?

– शर्माजी

प्राप्त राजनीतिक उपलब्धिभन्दा पछाडि फर्कने काम नै प्रतिगमन हो । अहिले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले हिन्दूराष्ट्रको नाममा प्रतिगमन चाहिरहेको हो कि भन्ने आशंका जन्माएको छ । नेपालको संविधानमा नेपाललाई धर्मनिरपेक्ष राष्ट्र भनिएको छ । यसको सिधा अर्थ सबै धर्मलाई समान अधिकार भन्ने नै हो । तर प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसभित्र भने संविधान विपरीतका हर्कत सुरु भएका छन् ।

संविधानले लिएको मूल मर्म र भावना विपरीत गएर काँग्रेसका केही शीर्ष नेताले हिन्दूराष्ट्रको पक्षमा वकालत गरिरहेका छन् । त्यसमा महामन्त्री शशांक कोइराला सबैभन्दा अगाडि देखा परेका छन् । उनले नेपाललाई हिन्दू राज्य बनाउनुपर्ने विषयमा माग गर्दै आएका छन् ।  नेपाली कांग्रेसभित्र हिन्दूराष्ट्रको विषयले बेलाबेलामा चर्चा पाए पनि मूर्त रुप पाउन भने सकेको छैन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको छ । तर, बैठकमा कुनै पनि नेताले हिन्दूराष्ट्रको कुरा देखिने गरी नउठाएपछि महामन्त्री शशांक कोइराला र अर्का केन्द्रीय सदस्य शंकर भण्डारीले हिन्दूराष्ट्रको एजेण्डालाई बल पुग्ने गरी काम गरिरहेका छन् । 
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले हिन्दूराष्ट्रको विषयलाई केन्द्रीय कार्यसमितिको बैठकमा चर्को रुपमा उठाउने तयारी गरेका छन् । भण्डारीले सार्वजनिक कार्यक्रमहरूमा हिन्दूराष्ट्रको कुरा उठाउने गरेका छन् । कांग्रेसभित्र नेता भण्डारीले मात्रै जोडदार रुपमा हिन्दूराष्ट्रको पक्षमा सार्वजनकि रुपमा जनता भड्काउने गरी अभिव्यक्ति दिँदै आएका छन् । 
महामन्त्री डा. शशांक कोइरालाले पनि हिन्दूराष्ट्रको पक्षमा बेलाबेला अभिव्यक्ति दिने गरेका छन् । डा. कोइरालाले हिन्दूराष्ट्रको पक्षमा बोले पनि उनले स्पष्ट रुपमा एजेण्डा बोक्न नसकेको भन्दै आलोचना हुँदै आएको छ । काँग्रेसभित्रका केही दक्षिणपन्थी धारका नेताहरुले महामन्त्रीको काँधमा बन्दुक राखेर हिन्दूराष्ट्रको एजेण्डा अगाडि सारेका छन् । हिन्दूराष्ट्रको पक्षमा उनको दोहोरो चरित्रले कांग्रेसका नेता तथा कार्यकता समेत आश्चर्यमा परेको जानकारहरुको भनाइ छ । 
नेपाली कांग्रेसका अर्का नेता डा.शेखर कोइरालाले पनि हिन्दूराष्ट्रको पक्षमा झिनो स्वरमा अभिव्यक्ति दिँदै आएका छन् । उनले पनि जिब्रो चपाएको कांग्रेसभित्र हिन्दूराष्ट्रको पक्षमा आवाज उठाउनेहरूले आरोप लगाउने गरेका छन् ।
काँग्रेसका दिवंगत नेता खुमबहादुर खड्काले मृत्युअघिसम्म हिन्दूराष्ट्रको पक्षमा जोडदार रुपमा आवाज उठाएका थिए । तर, खड्काको निधनसँगै यो एजेण्डा मुर्छित अवस्थामा पुगेको थियो । पुनः हाल संशाक कोइराला र शंकर भण्डारीहरु त्यसको पक्षमा खुलेर लागेका छन् । कांग्रेसका नेता कृष्णप्रसाद सिटौला नै नेपाललाई धर्मनिरपेक्ष बनाएको भन्दै उनको खोइरो खनेका छन् । काँग्रेस केन्द्रीय समितिको बैठकमा यो विषयले कहिले प्रवेश पाउला ? प्रतीक्षाको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस