आकाशमा उपद्रो मच्चाउने महिला

पत्रपत्रिकाबाट

शुक्रबार, २४ साउन २०७६, १९ : १७
आकाशमा उपद्रो मच्चाउने महिला

एजेन्सी । गत जुन २२ मा एक जना ब्रिटिस महिलाले हवाईजहाजमा आक्रामक व्यवहार गरेकी थिइन्। अब उनले त्यस उपद्रोको मूल्य चुकाउनुपर्ने भएको छ। जेट टू कम्पनीले २५ वर्षीय क्लो हेन्सलाई उद्दण्ड व्यवहार गरेबापत ८५ हजार पाउन्ड (करिब १ करोड १४ लाख रुपैयाँ) जरिवाना तिराउन कानुनी कारबाही सुरु गरेको छ। 

इंग्ल्यान्डको राजधानी लन्डनस्थित स्ट्यान्सटेड विमानस्थलबाट जुन २२ मा जेट टू कम्पनीको हवाईजहाजले टर्कीको डालामानतर्फ उडान भरेको थियो। यात्रारत हेन्सले आकाशमा उपद्रो मच्चाउन थालिन्। विमानका कर्मचारीसँग झगडा गरिन्, उडिरहेको विमानको ढोका खोल्न खोजिन्। उनलाई नियन्त्रणमा लिन कर्मचारीले अन्य यात्रुको सहारा लिनुपरेको थियो। विमानलाई दुइटा फाइटर जेटले एस्कर्ट गरेर स्ट्यान्सटेड विमानस्थलमै फर्काइएको थियो। उनलाई प्रहरीले पक्राउ गरेको थियो। एक महिनापछि उनलाई प्रहरीले छोडेको थियो।  

तर, जेट टूले हालसालै उनलाई ८५ हजार पाउन्ड तिराउने गरी मुद्दा हालेको छ। कम्पनीका प्रमुख कार्यकारी स्टिभ हिपीले हेन्सलाई आजीवन जेट टूमा प्रतिबन्ध लगाउने पनि बताए। ‘हामी यस्तो उग्र व्यवहारप्रति शून्य सहनशीलता देखाउँछौँ,’ उनले भने, ‘एक जनाको कारण विमानभित्रका सयौँ यात्रुलाई मर्का परेको थियो। हेन्सले आफ्नो कृत्यको परिणाम भोग्नैपर्छ।’  - शुक्रबारबाट

प्रतिक्रिया दिनुहोस