Safal Khabar - रोगको राजधानी बन्दैछ अघोषित मेडिकल सिटी चितवन : डा. अधिकारी
बुधबार, ०८ माघ २०७६ (Wednesday, 22 January, 2020)
विशेष कुराकानी

रोगको राजधानी बन्दैछ अघोषित मेडिकल सिटी चितवन : डा. अधिकारी
मङ्गलबार, १६ माघ २०७४, १६ : १३
रोगको राजधानी बन्दैछ अघोषित मेडिकल सिटी चितवन : डा. अधिकारी

चितवन । स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्का उपाध्यक्ष, भरतपुर अस्पतालका फिजिसियन एवं पुष्पाञ्जलि अस्पतालका निर्देशक डा. भोजराज अधिकारी मेडिकल सिटीको रुपमा चर्चा गरिने चितवन पछिल्लो समय रोगको राजधानी बन्दै गएकोप्रति चिन्तित छन् । यस्तो किन भइरहेको छ भन्नेबारे अनुसन्धान हुन आवश्यक रहेको उनको भनाई छ ।
बुबा एकदेव अधिकारी र आमा चुनादेवी अधिकारीका चार भाइ छोरामध्ये साहिँला छोरा अधिकारीको जन्म २०३७ साल फागुन १२ गते कुरिनटारको कमेरे गाउँमा भएको हो । २०५२ सालमा अमर मावि पटिहानीबाट एसएलसी पास गरेका अधिकारीले २०५५ सालमा काठमाडौँको अमृत साइन्स कलेजबाट आइएस्सी उत्तीर्ण गरेका हुन् । मणिपाल शिक्षण अस्पताल पोखराबाट २०६२ सालमा एमबीबीएस पूरा गरेका अधिकारीले सोही वर्षदेखि तीन वर्षसम्म भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा काम गरे । २०६५ सालमा बबिता घिमिरेसँग विवाह गरेका अधिकारीले २०६७ सालमा काठमाडौँ विश्वविद्यालयबाट इन्टरनल मेडिसिनमा एमडी सिध्याए ।
प्रस्तुत छ, स्वास्थ्य क्षेत्रमा थिंक ट्यांकका रुपमा परिचित डा. भोजराज अधिकारीसँग मेडिकल सिटी र स्वास्थ्य क्षेत्रका समस्या र डा. अधिकारीका योजनाबारे सफल खबरले गरेको कुराकानी :

सफल खबर : चितवन जिल्ला वा भरतपुर महानगर क्षेत्रलाई मेडिकल सिटीको रुपमा चर्चा गरिन्छ । के भरतपुर मेडिकल सिटी भइसकेको हो ?

डा. अधिकारी : मेडिकल सिटीका लागि नीतिगत र व्यावहारिक दुई पक्ष सबल हुनुपर्छ । नीतिगततर्फ कुरा गर्दा सरकारले भरतपुर वा चितवनलाई मेडिकल सिटी बनाउने भनेर निर्णय गर्नुपर्छ । त्यो निर्णय कार्यान्वयनका लागि अधिकारसम्पन्न समिति बनाउनु पर्छ । यो काम भइसकेको छैन । व्यावहारिकतर्फ कुरा गर्दा सेवा प्रदायक र सेवाग्राहीको कुरा आउँछ । सेवा प्रदायकले पूर्वाधार, जनशक्ति र ख्याति निर्माण गर्नुपर्छ । सेवाग्राहीले आफूले पाउने स्वास्थ्य सेवा र सुविधाबारे जान्नुपर्छ ।
पूर्वाधार, जनशक्ति र ख्यातिका हिसाबले चितवन अझै पनि काठमाडौँपछिको स्थानमा छ । अर्थात् चितवन नेपालको स्वास्थ्य क्षेत्रमा दोस्रो स्थानमा छ । त्यसैले चितवनको स्वास्थ्य क्षेत्र नन्रेफरल बन्न सकेको छैन । माथिका यी तथ्यहरुलाई केलाउँदा चितवन वा भरतपुर मेडिकल सिटी भइसकेको छैन । विशेषगरी भरतपुर महानगरलाई मेडिकल सिटी बनाउन सकिन्छ । यसका लागि माथि चर्चा गरिएका सबै पक्षमा भरतपुर अब्बल हुनुपर्छ ।
अघोषित मेडिकल सिटी चितवन रोगको राजधानी बन्दैछ । चितवनमा बर्सेनी नयाँ नयाँ रोग किन देखा परेका छन् भन्नेबारे अनुसन्धान आवश्यक छ । अत्याधुनिक रेफरेन्स ल्याबोरेटरी पनि चाहिन्छ । सरोकारवाला सबैले चितवनको स्वास्थ्य सम्बन्धमा सकारात्मक चिन्तन लिनुपर्छ । अनिमात्र मेडिकल सिटीको परिकल्पना साकार हुनेछ ।

सफल खबर :
मेडिकल सिटीको रुपमा भरतपुरलाई चर्चा गरेपनि थप उपचारका लागि बिरामी काठमाडौँ, दिल्ली वा बैंकक जाने परिपाटीको अन्त्य भइसकेको छैन । दुई वटा मेडिकल कलेज, एउटा सरकारी अस्पताल र एउटा क्यान्सर अस्पताल रहेको चितवनबाट बिरामी उपचारका लागि जिल्ला वा देश बाहिर जानुको खास कारण के हो ?

डा. अधिकारी : शरीरको अंग प्रत्यारोपणबाहेक सबै स्वास्थ्य सेवा चितवनमा अझ भनौँ भरतपुरमा उपलब्ध छन्् । चितवनलाई समग्र स्वास्थ्य सेवा र पूर्वाधारका हिसाबले काठमाडौँपछिको स्थानमा राखिएको छ । यस अर्थमा चितवन दोस्रो स्थानमा छ । हामी दोस्रो स्थानमा भएकोले सेवाग्राहीले स्वाभाविक रुपमा पहिलो खोज्छन् । मुख्य कारण त यही नै हो । यसबाहेक सेवाग्राहीको एउटा असन्तुष्ट समूह पनि छ, जो विकल्प खोजिरहन्छ । चितवनबाट सन्तुष्ट नभई काठमाडौँ जाने, काठमाडौँबाट सन्तुष्ट हुन नसकी दिल्ली जाने र त्यहाँ पनि सन्तुष्ट हुन नसके बैंकक जाने गरेको पनि पाएका छौँ ।
भरतपुर महानगरले भूमिका खेलेर चितवनको उपचारमा सेवाग्राही ढुक्क हुने अवस्था बनाउनु पर्छ । शल्यक्रिया शुल्कमा एकरुपता, समयमा सेवा पाउने कुरालाई व्यवस्थित गर्न आवश्यक छ ।

सफल खबर : जनतालाई सरकारी स्वास्थ्य संस्थाले प्रवाह गर्ने स्वास्थ्य सेवा पर्याप्त नभएपछि जनसंख्याको ठूलो हिस्सा निजी स्वास्थ्य संस्थामा निर्भर छ । तर, निजी अस्पताल र ल्याबहरुले बिरामीसँग धेरै पैसा असुलेर उपचारका नाममा कंगाल बनाइरहेछन् भन्ने जनगुनासो छ । निजी क्षेत्रमा स्वास्थ्य सेवा यति धेरै महँगो किन भएको हो ?

डा. अधिकारी :
स्वास्थ्य, शिक्षा, खाद्यान्न, आवास लगायतका आधारभुत सुविधा सरकारले सुलभरुपमा जनतालाई दिनुपर्छ । यसका लागि राज्य आफू बलियो भएर सरकारी र निजी क्षेत्रलाई आफ्नो नियन्त्रणमा राख्नुपर्छ । जनतालाई राज्य बलियो भएको अनुभूति दिन सक्नुपर्छ । सरकारले स्वास्थ्य बिमा लागु त गरेको छ, तर सेवाग्राही सन्तुष्ट हुन सकेका छैनन् । झन्झटिलो प्रकृयाहरु सेवाग्राहीमैत्री बनाउनु आवश्यक छ ।
स्वास्थ्य बिमाको महत्व बुझाउन सकेमा यो त्यति ठूलो समस्याको विषय नै होइन । मोटरसाइकल वा अन्य सवारी साधन दुई, तीन महिनामा सर्भिसिङ गरिन्छ भने वर्षमा एकपटक आफ्नै शरीरको चेकजाँच गर्नैपर्छ । जनतालाई यो कुरा बुझाउन नसक्दा ठूलो हिस्साले नियमित स्वास्थ्य परीक्षण गराउँदैनन् । बिरामी भएपछिमात्रै अस्पताल जाने प्रवृत्ति अझै छ । सरकारीभन्दा निजी स्वास्थ्य संस्थामा २५ प्रतिशतभन्दा बढी शुल्क लिन नपाउने व्यवस्था सरकारले गर्ने हो भने निजी क्षेत्र महँगो भन्ने अवस्था हराएर जानेछ ।

सफल खबर : स्वास्थ्य क्षेत्रमा १२ वर्ष लामो अनुभव हासिल गरिसक्नु भएको छ । तपाइँलाई मेडिकल क्षेत्रको थिंक ट्यांक पनि भनिन्छ । भरतपुर महानगरमा स्वास्थ्य क्षेत्रको सुधारका लागि तपाइँका योजना के के छन् ?

डा. अधिकारी : भरतपुर महानगर प्रमुख रेनु दाहालले मसँग महानगरले प्रारम्भिक चरणमा स्वास्थ्य क्षेत्रलाई कस्तो बनाउने भनेर सल्लाह माग्नु भएको थियो । मैले उहाँलाई महानगर घुम्ती स्वास्थ्य शिविर एउटा विकल्प हुनसक्ने सुझाव दिएको थिएँ । स्वास्थ्य क्षेत्रको सुधारका लागि मेरो पहिलो योजना घुम्ती स्वास्थ्य शिविर नै हो । स्वास्थ्य सेवाको प्रभावकारी पहुँचमा रहेका पाँच वटा वडालाई छोडेर महानगरका बाँकी २४ वटा वडामा घुम्ती स्वास्थ्य शिविर प्रभावकारी हुनसक्छ । सुविधासम्पन्न मोबाइल मेडिकल भ्यानमा चिकित्सक र स्वास्थ्य प्राविधिकको टोली परिचालन गरेर एक दिनमा चार वटा वडालाई समेट्न सक्ने हो भने हप्तामा सबै वडा समेटिन्छन् । हरेक हप्ता हरेक वडामा पुग्न सकिन्छ ।
मेरो दोस्रो योजना हो, नागरिक अस्पताल । महानगरले आफै नागरिक अस्पताल संचालन गरेर महानगरवासीलाई सुलभ उपचार सेवा दिन सक्छ । तेस्रो योजनामा भरतपुर स्वास्थ्य प्रतिष्ठानको निर्माण रहेको छ । यस्तो प्रतिष्ठान निर्माण गरी त्यस अन्तर्गत बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर अस्पताललाई राख्न सकिन्छ । त्यसो गरेमा क्यान्सर र नन् क्यान्सर अस्पतालमार्फत एकै थलोमा बिरामीलाई उपचार सेवा दिन सकिन्छ ।
माथि उल्लेख गरिएबाहेक स्थानीय सरकारले स्वास्थ्य क्षेत्रमा भइरहेका अप्रत्यक्ष ठगी रोक्न सक्नुपर्छ । विभिन्न सञ्चारमाध्यममा आउने आचारसंहिता विपरीतका विज्ञापन रोक्न पनि आवश्यक छ ।

Yeti Diistillery
nic asia

सफल खबर : अन्त्यमा, तपाइँ राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषदको उपाध्यक्ष भएको नाताले यसको कामबारे केही बताइदिनु हुन्छ कि ?

डा. अधिकारी : अवश्य । परिषदले अनुसन्धानमा जोड दिन्छ । स्वास्थ्य क्षेत्रमा हुने अध्ययन, अनुसन्धान र त्यसको निष्कर्षसहित सरकारलाई नीति बनाउन परिषदले सरकारलाई सुझाव पनि दिन्छ । पहिला सरुवा रोगले देश आक्रान्त थियो । अहिले दुईतिहाई बिरामी नसर्ने रोगबाट प्रभावित छन् । यस विषयमा परिषदले अनुसन्धान गरिरहेको छ । आगामी वर्ष भरतपुर अस्पताललाई संस्थागत समीक्षा समिति (आइआरसी) बनाउने तयारीमा पनि छ परिषद ।

सफल खबर : कुराकानीका लागि समय दिनु भएकोमा धन्यवाद ।
डा. अधिकारी : हस्, धन्यवाद । 
 

प्रतिक्रिया दिनुहोस