राष्ट्रियसभामा २४ उमेदवार निर्विरोध निर्वाचित (सूचीसहित)

सोमबार, १५ माघ २०७४, १९ : १८
राष्ट्रियसभामा २४ उमेदवार निर्विरोध निर्वाचित (सूचीसहित)

काठमाडौंं  ।   निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरेको छ । सोमबार आयोगले निर्वाचनमा प्रतिस्पर्धा गर्ने पचासभन्दा बढी उम्मेद्वारहरुलाई निर्वाचन चिह्न प्रदान गरेको हो । निर्वाचन चिह्न पाएसँगै उम्मेदवारहरूबाट निर्वाचन प्रचारप्रसार सुरु भएको छ । निर्वाचन कार्यतालिका अनुसार आयोगले आज दिनको २ बजेसम्म उम्मेदवारहरूलाई आफ्नो मनोनयनपत्र फिर्ता लिनका लागि समय प्रदान गरेको थियो । 
निर्वाचन अधिकृतहरुको कार्यालयबाट प्राप्त पछिल्लो विवरण अनुसार, कुल ५६ पदका लागि हुन लागेको निर्वाचनमा २४ जना उमेदवार निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेश नम्बर १ मा महिला ३ र अन्य ३ गरी ६ जना उमेदवार निर्विरोध निर्वाचित भएका छन् भने अब दलित १ र अपाङ्गता भएका वा अल्पसङ्ख्यक १ पद गरी जम्मा २ पदका लागि बढी मतीय आधारमा निर्वाचन हुने भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

प्रदेश नम्बर २ मा ८ वटै पदका उमेदवार निर्विरोध निर्वाचित भएका छन् । प्रदेश नम्बर ३ मा ८ वटै पदमा मतदान हुनेछ भने प्रदेश नम्बर ४ मा अपाङ्गता भएका वा अल्पसङ्ख्यक १ पदमा उमेदवार निर्विरोध निर्वाचित भएकाले अन्य पदमा निर्वाचन हुनेछ । 

प्राप्त विवरण अनुसार, प्रदेश नम्बर ५ मा महिला ३ पदमा उमेदवारहरू निर्विरोध निर्वाचित भइसकेकाले अन्य ३, दलित १ र अपाङ्गता भएका वा अल्पसङ्ख्यक १ गरी जम्मा ५ पदमा निर्वाचन हुनेछ । त्यस्तै, प्रदेश नम्बर ६ मा सबै पदमा निर्वाचन हुँदैछ भने प्रदेश ७ मा महिला ३ र अन्य ३ गरी ६ पदमा उमेदवारहरू निर्विरोध भएकाले अब दलित १ र अपाङ्गता भएका वा अल्पसङ्ख्यक १ गरी जम्मा २ पदमा निर्वाचन हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस