चुडामणि शर्माविरुद्ध अर्को मुद्दा दायर, ४ करोड २९ लाख भ्रष्टाचार को आरोप

सोमबार, १५ माघ २०७४, १८ : १०
चुडामणि शर्माविरुद्ध अर्को मुद्दा दायर, ४ करोड २९ लाख भ्रष्टाचार को आरोप

काठमाडौं । आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा गैरकानुनी रुपमा ‘अकुत सम्पत्ति’ आर्जन गरेको भन्दै मुद्दा दायर गरेको छ ।

कर फर्छ्योट  आयोग मार्फत अर्बौ कर मिनाहा दिएको मुद्दाको किनारा नलाग्दै सोमबार आयोगले उनीविरुद्ध दोस्रो मुद्दा दायर गरेको हो । ४ करोड २९ लाख ५४ हजार १२४ रुपैयाँको बिगो माग दाबीसहित शर्माविरुद्ध अभियोगपत्र दायर भएको विशेष अदालतका प्रवक्ता नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए ।  
शर्माको कूल आम्दानी र खर्चको अनुसन्धान हुँदा उनले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भेटिएको आयोगले उल्लेख गरेको छ । प्रवक्ता पोखरेलका अनुसार शर्माको कूल आय ७ करोड ९३ लाख २७ हजार र खर्च ३ करोड ६३ लाख ७२ हजार ९६१ देखिन आएको उल्लेख छ । आयोग स्रोतले भने उनले कतिपय आम्दानी आफन्तका नाममा लुकाएकाले त्यसको आधार पुष्टि गर्न नसकिएको बताएको छ ।

अख्तियारले शर्मालाई अकुत सम्पत्ति आर्जनको मुद्दा दायर गरेको हो । यसअघि आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक शर्मासहित तीन जनाविरुद्घ १० अर्ब २ करोड भन्दा बढी भ्रष्टाचार गरेको अभियोगसहित विशेष अदालतमा मुद्दा दायर भएको थियो । शर्मासँगै  कर फर्छ्योट आयोगका अध्यक्ष लुमध्वज महत र सदस्य उमेश ढकाल विरुद्घ १० अर्ब २ करोड १९ लाख ८२४ रुपैयाँ भ्रष्टाचार गरेको मुद्दा दायर भएको थियो । शर्मा विरुद्घको उक्त मुद्दा अहिलेसम्मकै ठूलो भ्रष्टाचार मुद्दा हो ।

अख्तियारले शर्मासहित कर फर्छ्योट  आयोगका अध्यक्ष लुमध्वज महत र सदस्य उमेश ढकालविरुद्घ १० अर्ब ९६ करोड बिगो मागदावी गर्ने निर्णय गरेको थियो ।
अख्तियारले आयोगबाट छुट दिएका २० अर्ब ९८ करोड मध्ये १० अर्ब २ करोड रुपैयाँ मात्रै सदर गरेको र बाँकी १० अर्ब ९६ करोड रुपैयाँ गैरकानुनी रुपले छुट दिएको बताएको थियो । अख्तियारले शर्मालाई गत जेठ १९ मा नियन्त्रणमा लिएको थियो भने महत र ढकाल फरार भएका थिए ।
गैरकानुनी रुपमा थुनामा राखेको भन्दै शर्माकी श्रीमती कल्पना उप्रेतीले थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

रिटमा शर्मासँग अमानवीय ढंगबाट धरौटी रकम माग गरिएको भन्दै अख्तियारलाई कर फर्छ्योट  आयोगले गरेको कामकारवाहीप्रति अनुसन्धान गर्ने अधिकार नभएको उल्लेख गरिएको थियो भने रिटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विशेष अदालत र अनुुसन्धान अधिकृत राजन अधिकारीलाई विपक्षी बनाइएको थियो ।

शर्मा विरुद्धको भ्रष्टाचार मुद्दा विशेष अदालतको क्षेत्रााधिकारमा पर्ने भन्दै सर्वोच्च अदालतले साउन २७ गते फैसला गरेको थियो । सर्वोच्चले शर्मालाई साधारण तारेखमा छाड्नसमेत आदेश दिएको थियो भने उनीसँग विशेष अदालतले मागेको धरौटी रकम पनि अस्वभाविक भएको ठहर गरेको थियो । शर्मासँग विशेष अदालतले दुई अर्बभन्दा बढी धरौटी मागेको थियो । सर्वोच्चको आदेशमा धरौटी रकम मनासिब नदेखिएको उल्लेख छ ।

उक्त मुद्दामा शर्मालाई विशेष अदालत काठमाडौंले एक करोड धरौटी रकम माग गर्दै थुनछेकको आदेश जारी गरेको थियो । न्यायाधीशत्रय द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द र नारायणप्रसाद पोखरेलको संयुक्त इजलाशले सो आदेश दिएको थियो । यसअघि अनियमित रुपले कर मिनाहा गरेको आरोप लागेका कर फर्छ्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाईसमेत विशेष अदालतले एकरएक करोड धरौटी रकमसहित थुनछेकको आदेश दिइसकेको थियो ।

प्रतिक्रिया दिनुहोस